नेकपा स्थायी कमिटीको बैठक भोलि बस्नेदेखि सुनसान ठमेलसम्म (भिडियोसहित)

नेकपा स्थायी कमिटीको बैठक भोलि बस्नेदेखि सुनसान ठमेलसम्म (भिडियोसहित)


काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये नेकपाको स्थायी कमिटी बैठक बुधबार बस्ने भएको छ । बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा बिहान ११ बजे बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिइन् । उनका अनुसार बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै छन् ।

त्यस्तै नेपाल र भारतीय सीमा क्षेत्रमा पर्ने लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको भूभागमा सीमा विवाद रहेको छ । दुई देशबीचको सीमा विवाद मिलाउन चीनको पनि सहयोग आवश्यक पर्ने भएको छ । किनभने नेपाल, भारत र चीनको बीचको त्रिपक्षीय सीमाबिन्दु अहिलेसम्म तय गर्न सकिएको छैन् ।

संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि कुनै विवाद भए पार्टीको निर्णयबाट टुंगाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले सांसदहरुलाई सुझाव दिएका छन् । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकको छलफलमा भाग लिँदै मन्त्री त्रिपाठीले विधेयकमाथि कुरा नमिले नेपाली कांग्रेसले पदाधिकारी र नेकपाले सचिवालय बैठकबाट टुंगाउन सुझाव दिएका हुन् ।

त्यस्तैगरी लकडाउनका कारण यतिबेला बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता) थुप्रिन थालेको छ । लकडाउनको सुरुका दिनहरुमा बैंक निक्षेप निकाल्ने क्रम बढेको भएपनि बैंक तथा वित्तीय संस्थाहरु निर्वाध रुपमा खुलेपछि बैंकमा निक्षेप बढ्न थालेको हो ।

लकडाउनको मोडालिटी परिवर्तन भएको लामो समय भएपनि देशको प्रमुख पर्यटकीय क्षेत्र ठमेल अझै सुनसान रहेको छ । लकडाउनको मोडालिटी परिवर्तन गरिएपनि सार्वजनिक यातायात र पर्याप्त भाडाका सवारी साधन चल्न नसक्दा ठमेल क्षेत्र अझै सुनसान भएको हो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Logo