भूकम्प प्रभावित क्षेत्र रुकुम पश्चिम पुगे एनआरएनए अध्यक्ष शर्मा

भूकम्प प्रभावित क्षेत्र रुकुम पश्चिम पुगे एनआरएनए अध्यक्ष शर्मा


गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष राजेन्द्र कुमार (आरके) शर्मा भूकम्प पीडितलाई राहत लिएर प्रभावित क्षेत्रमा पुगेका छन् । शर्मा एनआरएनएका अन्य अभियन्ताहरुसँगै सोमबार रुकुम पश्चिम पुगेका हुन् । 

शर्मा नेतृत्वको एनआरएनए टोलीले रुकुम पश्चिम र जाजरकोटमा पुगेर त्यहाँको वस्तुस्थितिबारे जानकारी लिनुका साथै राहत वितरण गर्ने कार्यक्रम रहेको छ ।

यस्तै, रुकुम पश्चिम जानेक्रममा शर्मा नेतृत्वको टोलीले सोमबार दिउँसो नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा उपचाररत घाइते तथा परिवारजनसँग भेटवार्ता गरेर उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिएको थियो ।  

आफूसहित महासचिव बुद्धि सुवेदी, निवर्तमान अध्यक्ष रविना थापा, युरोप महिला संयोजक गीता खनाल थापा, अभियन्ताहरु शनि कुमार ओली, ओम शर्मालगायतले घाइतेलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेको शर्माले जानकारी दिए । सो क्रममा घाइतेहरुलाई उपचार र बसोबासमा सहज होस् भन्ने अभिप्रायका साथ केही आर्थिक सहयोग समेत गरेको बताइएको छ । शर्मा नेतृत्वको टोलीले गरेको सहयोगपछि उनीहरुले खुसी व्यक्त गरेका थिए ।

एनआरएनएले आइतबार नै काठमाडौँबाट भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री लोड गरेर पठाएको थियो । जुन सामग्री पुगिसकेको छ । १० करोडको विपद् कोष बनाउने घोषणा गरेको एनआरएनएले आवश्यक पर्ने त्रिपाल, कम्बलसहित प्रभावित स्थानमा पठाएको महासचिव बुद्धि सुवेदीले जानकारी दिए । 

शनिबार जुममार्फत एनआरएनका पदाधिकारी तथा विभिन्न अभियन्ताहरुले विपद् उद्दार कोषमा सहयोग गर्ने रकम घोषणा गरेका थिए । जसमा अध्यक्ष शर्माले २१ लाख, महासचिव सुवेदीले १९ लाख कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगानाले १७ लाख, निवर्तमान अध्यक्ष कुल आचार्यले ५ लाख ५५ हजार ५ सय ५५सहित विभिन्न व्यक्तिहरुले रकम सहयोग गर्ने घोषणा गरेका थिए ।

सोहीअनुसार आइतबार गाडीमार्फत पठाइएको राहत सामग्री वितरण र त्यहाँको अवस्थाबारे जानकारी लिन सोमबार शर्मासहितको टोली नेपालगन्ज हुँदै प्रभावित स्थलतर्फ लागेको हो । एनआरएनले भूकम्प प्रभावित क्षेत्रमा विज्ञसहितको टोली लिएर गएपछि भूकम्प प्रभावित क्षेत्रको राहत वितरण तथा उद्दार कार्यमा सरकारलाई सघाउने अध्यक्ष शर्माले जानकारी दिए । 

सरकारले एकद्वार प्रणालीमार्फ राहत वितरण लगाएतका कामहरु गर्ने बताएकाले सरकारको नियम अनुसार नै आफूहरुले काम गर्ने पनि अध्यक्ष शर्माको भनाइ छ ।

शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएसँगै मानवीय दायित्व सम्झिँदै एनआरएनएले प्रभावित क्षेत्रमा राहत वितरण गर्ने निर्णय गरेसँगै आवश्यक सामग्री लिएर गएको हो । शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट हालसम्म १५३ जनाको मृत्यु भएको छ भने कैयन भौतिक संरचनाहरुमा क्षति भएको छ ।

देशमा भूकम्प गएर ठूलो मानवीय क्षति भएपछि शर्मा कर्मभूमि कतार पुगेको केही दिनमै आइतबार स्वदेश फिर्ता भएको उनकाे सचिवालको भनाइ छ । शर्माले आफूहरु सरकारसँग हातेमाले गर्न तत्पर रहेकैले हतारमा स्वदेश फर्किएको बताए । जसअनुसार जाजरकोटमा पुगेर सबै राहत समग्री वितरण गरिने र अर्को चरणमा दीर्घकालीन सोचका साथ कुनै न कुनै माध्यमबाट पुननिर्माणको काममा लाग्ने बताए । जसअनुसार सामान आइतबार पठाइएपनि शर्मासहितको टोली सोमबार प्रभावित स्थलमा पुगेको हाे ।

Logo