सर्वदलीय बैठकः शान्ति र संविधानको पक्षमा एकमत

सर्वदलीय बैठकः शान्ति र संविधानको पक्षमा एकमत


प्रमुख राजनीतिक दलले गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । सिंहदरबारमा बसेको सर्वदलीय बैठकले पछिल्लो समय संविधान र शान्ति प्रक्रियाबाट प्राप्त उपलब्धिविरुद्ध जनतामा उत्तेजना फैलाउने र यसका नेतृत्वकर्तामाथि लाञ्छना लगाउने क्रम बढेको निष्कर्ष निकालेको हाे । 

बैठकमा विशेषगरी १२ बुँदे समझदारीमा हस्ताक्षर गर्ने पार्टीका नेताबीचमा समसामयीक पछिल्लाे राजनीतिमा देखापरेका ब्यवधानका बारेमा आ-आफ्नो तर्फबाट धारणा राखेका थिए । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

बैठकपछि माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले शान्ति र संविधानमाथिको प्रहारलाई मिलेर प्रतिवाद गर्ने निचोड निस्किएको बताइन् ।‘यदाकदा पानीको फोकाजस्तो छिटफुट देखापरेका प्रहारविरुद्ध मिलेर प्रतिवाद गर्ने सर्वसम्मत निष्कर्ष निस्कियो । जीवनभरी लडेका परिवर्तन गरेका नेताहरू गणतन्त्रको रक्षा गर्नेमा प्रतिवद्ध छौं ।’ उनले भनिन् । 

बैठकपछि एमाले सचेतक महेश बर्तौलाले व्यवस्थामाथि जसरी जनस्तरबाट नकारात्मक टिप्पणीहरु गराउने, खेती भईरहेको छ र जसरी सामाजिक सञ्जाललाई दुरुपयोग गर्न खोजिएको छ त्यसको बारेमा छलफल भएको बताए । पार्टीले सरकारका अकर्मण्यताले छाडातन्त्र मौलाएको भन्दै ध्यानाकर्षण गराएको उनको भनाई छ । 

‘हामीले पनि सरकारका कतिपय कामहरुका कारणले गर्दा मुलुकमा छाडातन्त्र मौलाएको छ । विद्यामान शासकीय प्रणालीहरुमाथि चुनौती सिर्जना हुने काम भईरहेको छ, गृह प्रशासन कमजोर भएको मुकदर्शक भएको, दिनदहाडे विभिन्न खालको जघन्य प्रकृतीका हिंसात्मक घटनाहरु अगाडि बढिरहेका छन् । यी सबै पक्षमा विशेषगरी शान्ति, संविधान, विद्यामान व्यवस्था जसरी एकपछि अर्को जनतामा निराशाजनक प्रस्तुतीहरु भईरहेको छ । शान्ति र संविधानको पक्षमा एकमत छौं ।’ उनले भने । 

Logo