होमस्टेमा बाह्य पर्यटक कोदो टिप्छन्, साग केलाउँछन्

होमस्टेमा बाह्य पर्यटक कोदो टिप्छन्, साग केलाउँछन्


यसै साता विश्व भेगन अर्गनाइजेशनमा आबद्ध छ बाह्य पर्यटक पर्यटकीय गाउँ भकुण्डे पुगे। बागलुङको भकुण्डे गाउँको अतिथि सत्कार होमस्टे (घरबास) मा उनीहरू पाँचौँ पटक पुगेका हुन्। बाह्य पर्यटक पाहुना भएर त्यहाँ पुग्छन् र सहयोगी भएर फर्कने गरेका छन्।

यतिबेला घरबास सञ्चालकलाई बाली थन्क्याउने चटारो छ। तर भेगनमा आबद्ध पर्यटक भने घरबास सञ्चालकलाई काममा सघाउँछन्। काम गर्न तथा कामबारे जान्नसमेत मन पराउने भएकाले घरबास सञ्चालकसँगै कतिपयले कोदो टिप्छन् भने कतिले साग केलाउने गरेका अतिथि सत्कार घर बासका सञ्चालक याम थापाले बताए।

भेग मात्रै होइन, बाह्य पर्यटकसमेत खेतबारीमा पुगेर काममा सघाउँछन्। हालै कोरियाबाट एउटा समूह घरबास पुगेर फर्किसकेको छ। घरबासमा बढीजसो अमेरिका,क्यानडा, दक्षिण कोरिया, चीनलगायत मुलुकबाट बढी पर्यटक आउने गरेका छन्।बाह्य पर्यटकले घरबासमा अग्र्यानिक खानाका परिकारको स्वाद लिने, पर्यटकीयस्थलको भ्रमण गर्ने र घरबास सञ्चालकलाई काममा सघाउने गरेका थापा बताउँछन्।

‘यतिबेला भकुण्डेमा कोदो भित्र्याउने चटारोमा पुगेका बाह्य पर्यटकले कोदो ठटाउने र केलाउने गरेका छन्, घरबास सञ्चालकसमेत दिउँसो कोदो काट्न पुग्छन् तर भेगनमा आबद्ध पर्यटक रमाइलो गर्न काम गर्छन्’, थापाले भने, ‘बाह्य पर्यटकले कोदोको बाला टिप्ने, साग टिपेर केलाउने गर्नुहुन्छ, उनीहरू यसमै रमाउने गरेका छन्।’

नेपालको खेतीपाती र कला–संस्कृतिका विषयमा बाह्य पर्यटकलाई चासो हुने भएकाले उनीहरूले परीक्षण गर्ने र खेतीपातीको विषयमा जानकारी दिनसमेत कोदोबारीमा पुगेको आफूले अनुभव गरेको घरबास सञ्चालिका इन्द्र थापाले बताए।

पाँचौं समूहअन्तर्गत अमेरिकाका चार, क्यानडा र जर्मनकीका एक–एक पर्यटक तीन दिन अतिथि घरबासमा रमाएका पर्यटन व्यवसायी महादेव शर्माले जानकारी दिए। बाह्य पर्यटकले त्यहाँका स्थानीयले गर्दै आएका हरेक क्रियाकलापमा सहभागी हुने गरेको उनले बताए।

मासु तथा मासुजन्य पदार्थ उपभोग नगर्ने भेगनमा आबद्ध विदेशी पर्यटकले त्यहाँको हरेक काममा आफैँ अग्रसर भएर सहयोग गर्दै आफूलाई त्यही काममा रमाइलो मान्ने गरेको उनको भनाइ छ।

‘अहिलेको बाह्य पर्यटकको समूहसँगै भकुण्डेमा पाँच समूह आइसकेको छु, उनीहरू पदमार्ग हुँदै भकुण्डे पुग्छन्’, शर्माले भने, ‘बाह्य पर्यटक हिमाल, दृश्यावलोकन, कला-संस्कृतिसँगै आफैँ काम गरेर रमाउँछन्।’

भकुण्डेबाट बौडैचौर हुँदै बौरसम्मको दुई दिने पदयात्रा मार्ग आफ्नै पहलमा रेखाङ्कन गरिएको शर्माको भनाइ छ। पर्यटनमैत्री पूर्वाधारको खाँचो रहेको उनी बताउँछन्। पुराना पदमार्गमा ढुङ्गा छापेरै जीवन्त दिनुपर्ने शर्माले बताए।

जिल्लाकै पहिलो अतिथि सत्कार घरबासमा मगर समुदायका १५ घर समावेश गरिएका छन्। घरबास सञ्चालनमा आएसँगै भुकण्डेले मुहारै फेरेको छ।भुकण्डेको शिरमा रहेको मुलाबारी भ्यूटावर, मध्य भागमा रहेको बराह ताल पर्यटक लोभ्याउने माध्यम बनेका छन्। घरबासमा एक रातमा ८० जना बस्न मिल्ने सञ्चालक प्रेम थापाले बताए।

घरबासमा पर्यटकको बसाइ लम्ब्याउन उद्यानसमेत निर्माण गरिएको छ। घरबासमा हेलिकोप्टरमार्फत विदेशी पर्यटक आउने गरेका छन्। बागलुङ बजारबाट तीन घण्टाको पैदल र डेढ घण्टाको यातायात साधनमा पुग्न सकिनछ।

घरबास २०७३ सालमा सञ्चालनमा आएको हो। घरबास सञ्चालकले गाउँमै उत्पादित आलु, भटमास, मकै, मुला, कोदोको ढिँडो, सिस्नो,गुन्द्रुक तथा खसी र कुखुराको परिकार पाहुनाको रोजाइअनुसार खुवाउने गरेका छन्।

Logo