पूर्वप्रधानमन्त्री झलनाथ भन्छन्- ‘म हजुरबाले खोजेको नाति’

पूर्वप्रधानमन्त्री झलनाथ भन्छन्- ‘म हजुरबाले खोजेको नाति’


हजुरबा प्रकाण्ड ज्योतिषी थिए। नाम चलेको थियो, प्रतिष्ठित थियो खनाल परिवार साँखेजुङ(इलाम) मा । वरपर छिमेकी जिल्लातिर समेत योपरिवार अपरिचित थिएन। खान-लाउन कुनै समस्या पनि थिएन।

तर सुपठित नाति अचानक वामपन्थी विचार बोकेर भूमिगत भयो ! छक्क परे ज्योतिषी हजुरबा, चकित परे परिवारका सदस्यहरु ! जन्मँदै हजुरबाले त भविष्यवाणी गरिदिएका थिए, `नाति मैले खोजेजस्तै जन्मियो तर यो बलियो ग्रह लिएर आएको छ, यो लरतरो मान्छे हुने छैन ।´

चर्चा हो पूर्व प्रधानमन्त्री झलनाथ खनालको । तिहारको रमझम छ, देउसीभैलो गुञ्जिरहेको छ। हाल काठमाडौंको डल्लु निवासी नेता खनालसँग देउसीको अनुभव सुनाउन आग्रह गरेपछि उनले भूमिगत समयको अनुभव पनि सुनाए । हजुरबाको भविष्यवाणी पनि छुटाएनन् । 

माले, एमाले हुँदै अहिले नेकपा एकीकृत समाजवादीका नेता रहेका खनालले एकपटक सरकारको नेतृत्व गरिसकेका छन् । उनले आफ्नो हजुरबुवाको भविष्यवाणीको कारण परिवारले राजनीतिमा लाग्दा रोकतोक नगरेको खुलाए।

पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनदेखि ४६ को जनआन्दोलनको समयमा आफूहरुले भूमिगत जीवन व्यतित गर्दा उनले सो समयमा चाडपर्व जनतासँगै उनीहरुको घरमा मनाएको स्मरण गरे। कुराकानीमा उनले भूमिगत समयमा जनताको छोरी बुहारीसँग टीका लगाएर तिहार मनाउने गरेको बताए । 

त्यसबेला चाडपर्वमा घर परिवार र आफन्तको सम्झना आए पनि दृढ संकल्प र अठोटको कारण आफूले तिहार जनतासँगै मनाएको उल्लेख गर्दै उनले भने, ‘त्यो बेला देशलाई परिवर्तन गर्ने प्रवाहमा छौं र त्यो समय अनेक दुःख,कष्ट,त्याग गर्नुपर्छ,कुनै दिन गोली नै खान पर्ने हुन सक्छ भन्ने कुराको संकल्प दिमागमा थियो । त्यो संकल्प बोकेको मान्छेलाई चाडपर्वमा परिवार मिस गरिन मन बनाइसकेको थिए ।’ 

उनले थपे, ‘भूमिगत भएर बस्दा मैले पनि कतिपय बेला घर मूलीको हातबाट दशैंको टीका लगाएको छु । त्यो समय हाम्रो टाउकोको मोल तोकिएको थियो दिदीबहिनीको घरमा जानेकुरा भएन । तिहारमा तिनै जनताका छोरी बुहारीले टीका लगाइदिन्थे साथमा जे जति हुन्थ्यो दक्षीणा दिएर खुसीयाली मनाइन्थ्यो ।’

नेता खनालले आफ्नो हजुरबुवाको भविष्यवाणीको कारण परिवारमा आमाबुवाले राजनीतिमा आउँदा पनि कुनै प्रकारले हस्तक्षेप नगरेको बताएका छन् । ‘मेरो भूमिगत जीवनको समयमा बुवाआमाले कसरी मन बनाउनुभएको रहेछ भने मेरो हजुबुवा प्रकाण्ड ज्योतिषी हुनुहुन्थ्यो । उहाँले म जन्मने वित्तिकै ओहो यो राजयोग लिएर जन्मियो यो अर्कै मान्छे हुन्छ, मैले खोजेको नाती जन्मियो भन्नुभएको रहेछ । त्यसपछि पनि उहाँले मेरो बुवाआमालाई के भन्नुभएको थियो रे भने यसलाई कति पढाउन सक्छौ पढाउ त्यसपछि यसका पछाडि लाग्नु पर्दैन उसले स्वयं सबै आफ्ना काम गर्छ भन्नुभएछ त्यतिबेला । अब कसरी त्यो भन्नुभयो आफैंलाई सम्झँदा आश्चर्य लाग्छ । मैले राजनीतिमा लागेपछि उसकाे ग्रह नै यस्तै छ भनेर बुवाआमाको एक आलको मन बनाउनुभयो ।’ उनले भने ।

Logo