विभिन्न ठाउँमा मनाइयो नेपाल संवतकाे नयाँ वर्ष ११४४

विभिन्न ठाउँमा मनाइयो नेपाल संवतकाे नयाँ वर्ष ११४४


चन्द्रमास अनुसार प्रचलनमा रहेको मौलिक नेपाल संवत्को नयाँ वर्ष ११४४ आज विभिन्न कार्यक्रम गरी देशभर मनाइएको छ ।

राजधानीमा बिहान सूर्योदयसँगै नयाँ वर्षलाई भव्य स्वागत गरिएको थियो । नयाँ वर्षको खुसीयालीमा आज काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा शुभकामना र्याली निकालिएको थियो । काठमाडौँ, ललितपुर, भक्तपुर, कीर्तिपुर, गोकर्णेश्वर, टोखा, साँखु, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा मौलिक भेषभुषासहित सांस्कृतिक झाँकीयुक्त शुभकामना र्याली निकालिएको हो ।

यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्टिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराएका थिए । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए ।

लिच्छविकालका राजा राघवदेवको शासनकालबाट नेपाल संवत् सुरु भएको थियो । पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा नेपाल संवत् चलेको थियो । लिच्छविकाल अघि शक संवत् प्रचलनमा थियो ।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, कीर्तिपुर, गोकर्णेश्वर, टोखा, साँखु, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।

गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए । 

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परासमेत काठमाडौँमा अझै छ । आजैदेखि सरकारले सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय गरेको छ । यो निर्णय आजैदेखि कार्यान्वयन भएको जनाइएको छ ।

Logo