गैँडा मारेको घटनाप्रति काँग्रेसको ध्यानाकर्षण

गैँडा मारेको घटनाप्रति काँग्रेसको ध्यानाकर्षण


चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुर्लभ एकसिङ्गे गैँडा मारेपछि नेपाली काँग्रेस चितवनको ध्यानाकर्षण भएको छ।  पार्टीले शुक्रबार विज्ञप्ति प्रकाशित गरी दुई वटा पोथी गैँडा मारिएको घटनाले नेपाली काँग्रेस चितवनलाई गम्भीर बनाएको जनाएको छ। 

जिल्ला सभापति राजेश्वर खनालद्वारा प्रकाशित विज्ञप्तिमा गैँडा तस्करले दुई दशकभन्दा बढी पुरानो विधिको प्रयोग गरी दसैँ तिहारको बीचमा तस्करी गर्नु अत्यन्तै शङ्कास्पद घटनाको रूपमा रहेको जनाइएको छ। विज्ञप्तिमा भनिएको छ, “योजनाबद्ध रूपबाट गल, गैची र कोदालोजस्ता घरेलु हरियारको प्रयोग गरी खाडल बनाई गैँडालाई धरापमा पारिएको घटना नियोजितपूर्ण  ।”
 
दुर्लभ एक सिङ्गे गैँडाको प्रमुख वासस्थानको रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा घटेको यस प्रकारको घटनाले राष्ट्रिय निकुञ्ज र निकुञ्जभित्र रहेका वन्यजन्तुको सुरक्षा र निकुञ्जको सुरक्षाको जिम्मा लिएको प्रशासनमाथि नै प्रश्न चिह्न खडा भएको विज्ञप्तिमा जनाइएको छ। 

सशस्त्र द्वन्द्वकालमा भएका गैँडा तस्करीको घटनालाई बिर्साउने गरी भएको पछिल्लो घटनाले पर्यावरण तथा प्रजाती संरक्षणमा समेत विश्वसामु नेपालको साख धमिलो भएको विज्ञप्तिमा जनाइएको छ। विज्ञप्तिमा भनिएको छ। “यस प्रकारका घटनाको उच्चस्तरीय छानबिन गरी दोषीउपर कानुनबमोजिम कारबाही गर्न र निकुञ्ज क्षेत्रको सम्पूर्ण सुरक्षाको वातावरण तयार गर्न गम्भीर ध्यानाकर्षण गराउँदछौँ।”

Logo