खेलाडी नै पहिलो सेलिब्रेटी अनुहार हुन‍्ः राखेप सचिव घिसिङ

खेलाडी नै पहिलो सेलिब्रेटी अनुहार हुन‍्ः राखेप सचिव घिसिङ


राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले खेलाडी नै खेलकुद क्षेत्र चिनाउने पहिलो अनुहार र सेलिब्रेटी भएको बताएका छन् । 

तेक्वान्दो र कराँते खेलाडिका लागि आयोजित कोच प्रशिक्षण आरम्भ गर्दै उनले पेरिस पारा ओलम्पिकको राम्रो तयारीका लागि तेक्वान्दो संघलाई निर्देशन दिए । प्रशिक्षण कार्यक्रम चार दिनसम्म सञ्चालन हुने संघले जनाएको छ ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै आज सचिव घिसिङले आगामी खेलको लागि पूरा तयारी गर्न गराउन भनेका हुन् । ‘आउने पेरिस पारा ओलम्पिकको लागि खेलाडि छनोट हुने स्थिति करिव करिव निश्चित बनेको छ । हामीले पदक ल्याउने राम्रो अर्को अवसर छ ।त्यो अवसरलाई सम्पूर्ण रुपमा केन्द्रीत भएर लाग्न म तेक्वान्दो संघ र प्रशिक्षक तथा खेलाडि साथीलाई निर्देश गर्छु । हामीले जति समय छ त्यसलाई भरपूर प्रयोग गरी तयारी गरौं ।’

सचिव घिसिङले खेलाडि नै खेलकुद क्षेत्रको असली सेलिब्रेटी रहेको भन्दै थप मेहनत गर्न आग्रह गरे । उनले भने, ‘खेलाडि नै खेलकूद क्षेत्रको असली सेलिब्रेटी हो । दोस्रोमा प्रशिक्षक,तेस्रोमा संघ र चौथोमा राष्ट्रिय खेलकूद परिषद र पाँचौमा नेपाल सरकार हो । सुरुदेखि नै मैले म भन्दा अगाडि संघ,संघ भन्दा अगाडि प्रशिक्षक र पहिलो नम्बरमा खेलाडि छन् भन्दै आएको छु ।त्यसकारण खेलाडि साथीहरुले जे जसरी मेहनत गर्नुभएको छ, थप व्यवस्थित मेहनतका लागि शुभकामना ।’ 

तेक्वान्दो र कराँतेका खेलाडिलाई काठमाडौंमा दुई, चितवन र पोखरामा एक/एक गरी कुल चारवटा कार्यक्रमका बीच खेलाडिहरुलाई उच्च कोटीको प्रशिक्षण गराउने संघले जनाएको छ । प्रशिक्षण कार्यक्रम चार दिनसम्म सञ्चालन हुनेछ । कार्यक्रममा तेह्रौं एसियन गेम्समा सिल्वर पदक विजेता पूर्व खेलाडि सविता राजभण्डारीलाई संघले सम्मान गरेको छ । 

Logo