उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापन

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापन


उदाउँदो सूर्यको पूजा आराधनासहित अर्घ्य दिएर यस वर्षको छठ पर्वको समापन गरिएको छ। हिजो अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिएर राति जाग्राम बसेका व्रतालुहरूले आज  उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन गरेका हुन्।

व्रत नबसेकाहरूले पनि उदाउँदो सूर्यको पूजा गर्ने चलन छ। सूर्यको आराधना गरेर मनाइने यो पर्व लक्ष्मीपूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनदेखि विधिवत् रूपमा सुरु हुन्छ।

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वका रूपमा मनाउने छठ तराईमा बस्ने भोजपुरी र मैथिली भाषी हिन्दु समुदायको मुख्य पर्व हो।

छठ पर्वलाई निकै कठिन पर्व मानिन्छ। सूर्य र जलको शक्ति तथा महत्त्व झल्काउने यस पर्वमा सफा र चोखो हुनुपर्ने तथा शुद्ध खाने कुरा खानुपर्ने मान्यता छ। नेपालमा पहिला तराई क्षेत्रमा सीमित यो पर्व केही वर्षदेखि काठमाडौँ उपत्यका तथा विभिन्न पहाडी जिल्लामा पनि मनाउन थालिएको छ।

Logo