दुर्गा प्रसाईं र युवा संघको कार्यक्रम माइतीघरमा गर्न नदिने निर्णय

दुर्गा प्रसाईं र युवा संघको कार्यक्रम माइतीघरमा गर्न नदिने निर्णय


जिल्ला प्रशासन कार्यालय काठमाडौँले मंसिर ७ गते माइतीघर मण्डलामा नेकपा एमालेनिकट युवा संघ र व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रम गर्न नदिने निर्णय गरेको छ।  

सोमबार प्रशासनले दुवै पक्षसँग छलफल गरेर उक्त निर्णय लिएको हो । दुवै समूहको प्रदर्शनकारी हिँड्ने रुट र कार्यक्रम स्थल फरक पर्ने गरी कार्यक्रम स्थल तोक्नेबारे छलफल भइरहेको बताइएको छ । प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ले देशभरबाट सर्वसाधारण उतार्ने तयारी गरेको छ भने युवा संघले पनि ठुलो सङ्ख्यामा कार्यकर्ता उतार्दै छ ।

पछिल्लोसमय एमालेकाे भातृसंगठन युवा संघका पूर्व अध्यक्ष महेश बस्नेत र प्रसाईंबीच तल्लो स्तरको गालीगलौज चलिरहेको छ । दुईबीच सार्वजनिक कार्यक्रम, मिडिया र सोसल मिडियामा विष वमन चलिरहेको छ । यसैबीच एकैदिन एउटै स्थानमा हुने दुई समूहको प्रदर्शनले स्थिती तनावपूर्ण हुनसक्ने आंकलन गरेर प्रशासनले यो निर्णय लिएकोे बुझिएको छ । जसकारण आवश्यकता परे निषेधाज्ञा लगाउने तयारी प्रशासनको छ । 

Logo