#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व626740737396130459072847539
नेपाल157281344220

कोरोना कहरः तरकारी किन्न जाँदा पनि प्रहरीको लाठ्ठी

file photo

काठमाडौं ।
कोरोना भाइरसको संक्रमणबाट बच्न गत मंगलबारदेखि सरकारले गरेको लकडाउनपछि सर्वसाधारणको दैनिकी कष्टकर बन्दै गइरहेको छ ।

लकडाउनका बेला बाहिर निस्कने भन्दै प्रहरीले तरकारी किन्न जानेहरुलाई पनि लाठ्ठी हाल्न थालेपछि सर्वसाधारणको दैनिकी कष्टकर बन्दै गएको हो । सरकारले गरेको लकडाउनको समय एक साता मात्रै बित्दा पनि सर्वसाधारणको दैनिकी निकै कष्टकर बनेको छ । त्यसैमाथि लकडाउनको समय चैत्र २५ सम्म थप गरिएको छ । लकडाउन भएको सुरुवाती दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा झनै जीवन कष्टकर बन्दै गइरहेको छ ।

पेशाले सिलाई कटाईको काम गर्दै आएका काभ्रेका गोपी बर्देवा तरकारी किन्न जान पनि डराए । उनले एक सातासम्म सोयाविन र आलुको मात्रै तरकारी खाएर बसे । तरकारी किन्न गएकालाई प्रहरीले लाठ्ठी हान्न थालेपछि उनी तरकारी लिन जान सकेका छैनन् । ‘तरकारी किन्न जाँदा लाठ्ठी खाइन्छ, कसरी जानु त बाहिर ?’ बर्देवाले भने ।

त्यसैगरी, विगत २५ वर्षदेखि काठमाडौँ, सोह्रखुट्टे बस्दै आएका भारत, बिहार स्थायी घर भएका रामप्रवेश शर्माले पनि तरकारी किन्न प्रहरीको आँखा छलेर जाने गरेको बताए । शर्माले कहिले तरकारी किन्न पाउँछन् त, कहिले दालसँग मात्रै खाना खाएका छन् । उमेरले झण्डै ७० पुग्न लागेका शर्मा प्रहरीको कुटाई खाइने डरले तरकारी किन्न जान समस्या परेको बताउँछन् । बर्देवा र शर्मा त प्रतिनिधी पात्र मात्रै हुन् । सरकारको लकडाउनका कारण काठमाडौँँ उपत्यका मात्रै होइन मुलुकका विभिन्न क्षेत्रका सर्वसाधारणहरुले यस्तै समस्या भोग्न बाध्य छन् ।

सरकारले गरेको लकडाउनको पालना नगरेको भन्दै प्रहरी प्रशासन कडा रुपमा प्रस्तुत भएपछि सर्वसाधारणलाई तरकारी किन्न जान पनि समस्या भएको छ । बिहान बेलुका केही समयका लागि खुल्ने गल्ली गल्लीका किराना पसलमा पनि तरकारी किन्न जान सर्वसाधारण डराउने गरेका छन् ।

सरकारले लकडाउन भएपनि दाल, चामल, चिनी, तरकारी, नुन, तेल लगायतका दैनिक उपभोग्य बस्तुहरु सहजै पाइने बताउँदै आएको छ । त्यस्तै, भाटभटेनी लगायतका सपिङ मलहरुले पनि होम डेलीभरीको व्यवस्था गरेको बताउँदै आएका छन् । तर सर्वसाधारणले भने तरकारी किन्न जाँदा पनि लाठ्ठी खानु परेको गुनासो गरेका छन् ।

व्यापारी÷व्यवसायीहरुले यस्तै संकटको मौका छोपेर दैनिक उपभोग्य बस्तुहरुको मूल्यमा कालोबजारी गरिरहेका छन् । अहिले कालीमाटीमै तरकारीको भाउ आकाशिएको छ । उक्त तरकारी खुद्रे पसलसम्म आइपुग्दा छोइनसक्नु महँगो हुन्छ । एकातिर छोइनसक्नुको महँगी अर्काेतिर त्यहि मंहँगीमा भएपनि किन्न जाँदा प्रहरीको लाठ्ठी खानु परेपछि सर्वसाधारणको दैनिकी निकै पीडादायी बन्दै गइरहेको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार