फिफा विश्वकप छनोटमा नेपाल यमनसँग पराजित

फिफा विश्वकप छनोटमा नेपाल यमनसँग पराजित


घरेलु टोली नेपाल फिफा विश्वकप छनोटको दोस्रो चरणको दोस्रो खेलमा यमनसँग पराजित भएको छ। काठमाडौँ स्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल यमनसँग २-० ले पराजित भएको हो। यमनका लागि ओमार अल दाही र मोहम्मद अल्दुल्लाह अल दाहीले दोस्रो हाफमा गोल गरेका थिए।

नेपालले पहिलो खेल चोटका कारण गुमाएका अनन्त तामाङ र दिनेश हेन्जनलाई सुरुवात बाटै मैदानमा उतारेको थियो। खेलको सुरुवाती मौका पनि नेपालले नै पाएको थियो। खेलको तेस्रो मिनेटमा जिलेस्पी जंग कार्कीले बललाई पोस्टको दिशा दिने प्रयास गर्दा गोलरक्षकलाई फल गर्दा नेपालले अग्रता लिने अवसर सदुपयोग गर्न सकेन।

११ औं मिनेटमा दायाँ विंगबाट दिनेशले दिएको क्रसमा जिलेस्पीले हेडर जित्न सकेनन्। लगत्तै अर्कोतर्फ यमनको आक्रमणमा नेपाली डिफेन्सको परिक्षण भएको थियो। २८औं मिनेटमा दिनेश हेन्जनको कर्नरमा कसैले हेडर जित्न सकेनन् । त्यस लगत्तै यमनको काउन्टर नेपालले विफल पार्यो। एक मिनेट पछि दिनेश कै बक्स बाहिरबाट लिएको प्रहार पोस्टको धेरै टाढा बाट बाहिरियो ।

३२औं मिनेटमा अहमद महेरको प्रहार पोस्टको माथि बाट बाहिरियो । ३८औं मिनेटमा मोहम्मद अल वाजिहको प्रहारले पनि पोस्टको दिशा लिन सकेन। दोस्रो हाफको सुरुवातमै अहमद महेरको अर्को प्रहारले पनि किरणलाई दुःख दिन सकेन।

४८औं मिनेटमा दिनेशको क्रसमा अन्जन पुग्नु अघि यमन गोलरक्षक अल सदिले समाते। ५१औं मिनेटमा ओमार अल दहीको बक्स बाहिर बाट लिएको प्रहार किरणले बचाए। ५३औं मिनेटमा दिनेशको कर्नरमा उत्सव राईको फ्लिकले पोस्टको दिशा लिन सकेन। ६१औं मिनेटमा हिसुब थपलियाले सुन्दर मौका खेरा फाले। गोलरक्षक विरुद्ध वान अन वान मौका रहेकोमा उनले सिधै अल सदिको काधमा प्रहार गरे।

६३औं मिनेटमा एरिक विष्टको फ्री किक ब्लक भयो । ६५औं मिनेटमा अल खदेर अल डोउहले बललाई जालीमा हालेका थिए तर उनलाई असिस्टेन्ट रेफ्रीले अफसाइड दिए।

७२औं मिनेटमा ओमार अल दहीले यमनलाई अग्रता दिलाए । उनले बक्स बाहिर बाट लिएको शक्तिशाली प्रहारले जालि चुमेको थियो ।७६औं मिनेटमा अहमद महेर अग्रता दोब्बर गर्न बाट चुके । उनको बायाँ खुट्टाले गरेको प्रहार पोस्टको केही टाढा बाट मात्र बाहिरियो ।

खेलमा नेपाली प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले फरवार्ड राजेश परियारलाई डेब्यु दिएका थिए। उनले ७९औं मिनेटमा अन्जन विष्टको स्थान लिएर राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन्।

८७औं मिनेटमा मोहम्मद अल ताइरीको प्रहार किरणले बचाए । ९०औं मिनेटमा यमनले दोस्रो गोल गर्दै जित सुनिश्चित गर्यो । मोहम्मद अब्दुल्लाह अल दाहीले किरण माथि चिप गर्दै जित सुनिश्चित गरे। छनोट दोस्रो चरणको पहिलो खेलमा नेपालले युएई विरुद्ध ४-० को हार बेहोरेको थियो । 

Skip This
Logo