प्रचण्डसँग सती जान जरुरी छैन, गठबन्धनबारे काँग्रेसले बेलैमा निक्र्यौल गर्नुपर्छ -सांसद सुनिल शर्मा

प्रचण्डसँग सती जान जरुरी छैन, गठबन्धनबारे काँग्रेसले बेलैमा निक्र्यौल गर्नुपर्छ -सांसद सुनिल शर्मा


नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले हाल सरकारमा माओवादी केन्द्रसँग भइरहेको गठबन्धनबारे पार्टी नेतृत्वले समयमै साेच्‍नुपर्ने बेला आएकाे बताएका छन् । 

बुधवार मोरङ जिल्ला काँग्रेसको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै सांसद शर्माले माओवादीसँगको गठबन्धन कतिको सान्दर्भिक रहेको समयमै निक्र्यौल गर्न पार्टी नेतृत्वसँग आग्रह गरेका हुन् । उनले भने, ‘माओवादीसँग भएको हाम्रो गठबन्धन कति सान्दर्भिक छ ? नेपाली जनताको पक्षमा छ/की छैन भन्ने निक्र्यौल केन्द्रिय नेताहरुलाई समयमै गर्न अनुरोध छ । प्रचण्डसँग सती जान जरुरी छैन । काँग्रेस जनताको जवाफदेही भएको खण्डमा मिसन ८४ मा दुई तिहाई मत एक्लैले ल्याउँछ ।’ 

स्थानीय तहदेखि केन्द्रसम्मका राज्यसत्तामा पुगेका कांग्रेसका नेताहरुले एक रुपैयाँ पनि दुरुपयोग नगरेको कसम खान सक्नुपर्ने पनि उनले बताए । 

साथै सांसद शर्माले तलका कार्यकर्ता नबिग्रिएको पनि टिप्पणी गरेका छन् । ‘कार्यकर्ता बिग्रिएका छैनन् । हामी नेताहरु बिग्रिन पुगेको अवस्था छ । जहाँजहाँ समस्या छ, जहाँजहाँ प्वाल परेको छ । त्यो प्वाल परेको ठाउँमा हामीले टाल्न जरुरी छ ।’ उनले भने । 

जिल्ला अधिवेशनमा पार्टीका नेता डा. शेखर काेइराला, डा. मिनेन्द्र रिजाल, डा. डिला संग्राैलालगायत क्षेत्रीय प्रतिनिधिसहित ३५०० नेता कार्यकर्ता उपस्थित थिए । 

Logo