टी-२० विश्वकपः अफ्रिका रिजन छनोटमा जिम्बाबे पराजित

टी-२० विश्वकपः अफ्रिका रिजन छनोटमा जिम्बाबे पराजित


आईसीसी टी-२० विश्वकप क्रिकेटको अफ्रिका रिजन छनोटको पहिलो दिन बुधबार ३ वटा खेल सम्पन्न भएका छन्।

नामिबियामा सुरु भएको टी-२० विश्वकप अफ्रिका छनोट क्षेत्रीय फाइनलको पहिलो दिन केन्याले रुवाण्डालाई १७ रनले, युगान्डाले तान्जानियालाई ८ विकेटले र नामिबियाले जिम्बाब्वेलाई ७ विकेटले पराजित गरेका छन्। तीनवटै खेल विन्डहोकमा खेलिएका थिए।

पहिलो खेलमा केन्याले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १५४ रन बनाएको थियो। जवाफमा रुवाण्डाले पुरै ओभर खेल्दा पनि ४ विकेट गुमाएर १३७ रनमात्रै बनाउन सक्यो। ब्याटिङका क्रममा ४३ बलमा अविजित ६३ रन बनाएर मैदानमा दुई क्याच लिएर केन्याका इरफान करिम प्लेयर अफ द म्याच घोषित भए।

तान्जानियाविरुद्धको दोस्रो खेलमा युगान्डा २८ बल बाँकी रहँदै ८ विकेटले विजयी भएको थियो। टस जितेर पहिले ब्याटिङ गरेको तान्जानियाले २० ओभरमा ७ विकेट गुमाएर ९९ रन बनात्र बनायो। जवाफमा युगान्डाले १५.२ ओभरमा २ विकेट गुमाएर १०५ रन बनाउँदै लक्ष्य पूरा गरेको थियो।

युगान्डाका रियाजत अली शाहले अलराउन्ड प्रदर्शनका लागि खेलको प्लेयर अफ द म्याच घोषित भएका थिए। यस्तै, तेस्रो खेलमा नामिबियाले जिम्बाब्वेलाई ३२ बल बाँकी रहँदा ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ। 

पहिले खेलेको जिम्बाब्वेले क्रेग इर्विनको ३६ रनको सहयोगमा २० ओभरमा ८ विकेट गुमाएर १३२ रन बनाएको थियो। जवाफमा नामिबियाले १४.४ ओभरमा ३ विकेट गुमाएर जित हात पारेको थियो। 

नामिबियाका निकोलस डेभिनले ४५ बलमा ८९ रन बनाएका खेलको प्लेयर अफ द म्याच घोषित भए। प्रतियोगिता अन्तर्गत आज २ वटा खेल हुने छन्। प्रतियोगिताको चौथो खेल केन्या र नाइजेरियाबीच हुनेछ। पाँचौं खेल तान्जानिया र जिम्बाब्वेबीच हुनेछ।

Logo