विश्वकप अफ्रिका छनोटः जिम्बाबे विजयी

विश्वकप अफ्रिका छनोटः जिम्बाबे विजयी


अर्को वर्ष वेस्टइन्डिज र अमेरिकमा संयुक्तरुपमा आयोजना हुन लागेको आइसीसी टी-२० विश्वकप क्रिकेटका लागि अफ्रिका छनोटमा जिम्बाबेले पहिलो जित निकालेको छ। 

नामेवियामा जारी छनोट प्रतियोगितामा बिहीबार जिम्बाबेले तान्जेनियालाई ९ विकेटले पराजित गर्दै छनोट प्रतियोगितामा २ अंक बनाएको छ। ७ टिमले सहभागीता जनाएको छनोट प्रतियोगिताको तालिकामा जिम्बाबे चौथो स्थानमा रहेको छ। शीर्ष २ टिमले अर्को वर्षको टी-२० विश्वकपमा स्थान पक्का गर्ने छन्।

बिहीबार भएको खेलमा तान्जेनियाले दिएको ९७ रनको सामान्य लक्ष्य जिम्बाबेले १०.४ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गरेको थियो। तदिवानाशे मरुमणिले ३९ तथा सिनि विलियम्सले ३६ रनको नटआउट पारि खेले। यसैगरी इनोसेन्ट कैयाले २१ रन जोडेका थिए। जिम्बाबेले गुमाएको १ मात्र विकेट तान्जेनियाका सन्जयकुमार ठाकोरको नाउँमा रह्यो।

त्यसअघि पहिला ब्याटिङ गरेको तान्जेनियाले निर्धारित ओभरमा ९ विकेट गुमाएर ९६ रन बनाएको थियो। उसका लागि एले केमोटले २४ तथा भिक पटवाले १८ र एले किमोटले १६ रन जोडेका थिए। अरुको स्कोर सम्झन लायक थिएन। तान्जेनियालाई कम रनमा रोक्ने क्रममा जिम्बाबेका स्टार खेलाडी सिकन्दर राजा र रिचगार्ड नगर्भाले समान ३-३ विकटे लिए।

Logo