बागमती प्रदेश दोस्रो जित निकाल्दै सेमिफाइनलमा, सन्दीपकाे उत्कृष्ट प्रदर्शन

बागमती प्रदेश दोस्रो जित निकाल्दै सेमिफाइनलमा, सन्दीपकाे उत्कृष्ट प्रदर्शन


बागमती प्रदेश केपी ओली टि२० कपमा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा बागमतीले कर्णाली प्रदेशलाई ९० रनले हराएको हो । 

पोखरा क्रिकेट रंगशालामा १९० रनको विजयी लक्ष्य पछ्याएको कर्णाली प्रदेश १७.३ ओभरमा ९९ रन बनाउँदै अलआउट भएको हो । कर्णालीका लागि अर्जुन घर्तीले सर्वाधिक २४ रन बनाउनु बाहेक अन्य खेलाडीको ब्याटिङ चलेन । कप्तान रविन्द्रजंग साहीले २०, विपिन शाही २१ र दिपेन्द्र रावतले १२ रन बनाए । 

बलिङमा बागमतीका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । साथै दिपेश श्रेष्ठले २ , प्रतिश जिसि, रिजन ढकाल, सुवास खत्री र ईशान पान्डेले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८९ रन बनाएको थियो । बागमतीको लागि ओपनर रित गौतमले सर्वाधिक ८२ रनको अर्धशतकीय इनिङ खेले । साथै इशान पाण्डेले पनि ७० रनको उत्कृष्ट इनिङको योगदान दिए ।

बलिङमा कर्णालीका दिनेश अधिकारीले ३ विकेट लिए भने दिवान पुन र अनुज चनाराले एक एक विकेट लिए । 

बागमतीले समूह ए मा दुवै खेलमा जितका साथ सेमिफाइनलमा स्थान पक्का गरेको हो । उद्घाटन खेलमा बागमती प्रदेशले मदन भण्डारी स्पोर्टस्को टिम रातोलाई १०९ रनले हराएको थियाे । 

Logo