क्रिकेटर एस श्रीसान्तविरुद्ध धोकाधडीको अभियोगमा मुद्दा दर्ता

क्रिकेटर एस श्रीसान्तविरुद्ध धोकाधडीको अभियोगमा मुद्दा दर्ता


भारतीय क्रिकेट टोलीमा केही यस्ता खेलाडी छन् जो करियरको सुरुदेखि नै विवादमा आइरहेका छन्। तीमध्ये सर्वाधिक विवादास्पद नामका रुपमा भारतीय टोलीका पूर्व क्रिकेटर एस श्रीसान्तलाई लिन सकिन्छ।

क्रिकेट करियरमा उनलाई कहिले मैदानमा हरभजन सिंहबाट थप्पड खानु परेको थियो भने म्याच फिक्सिङको आरोपमा जेल नै जानु परेको थियो। ती आरोपबाट सफाइ पाएर निजी जीवनमा फर्किएका श्रीसान्त फेरि ठूलो समस्यामा परेका छन्। उनीविरुद्ध केरलाका सतीश गोपालन नामका व्यक्तिले ठगीको आरोप लगाएका छन्।

केरलाको कन्नूर जिल्लामा बस्ने सतीश गोपालनले एस श्रीसान्त र अरु दुई जनाविरुद्ध ठगीको मुद्दा दायर गरेका छन्। सन् २०१९ मा राजीव कुमार र वेंकटेश केनीले खेलकुद एकेडेमी बनाउने भन्दै १८.७ लाख रुपैयाँ लिएको गोपालनले बताएका छन्। 

यसमा श्रीसान्त उनको तेस्रो पार्टनरको रुपमा चिनाइएको छ। यो एकेडेमी कोल्लुरमा निर्माण गर्ने भनिए पनि यसको शिलान्यास पनि हुन सकेको छैन। पैसाको लेनदेनमा श्रीसान्त संलग्न नभएको तर उनको नाम लिएको भन्दै सतीशले पैसा लगानी गरेको पनि बताए।

सतीशको आरोपमा प्रहरीले श्रीसान्तसँगै वेंकटेश र राजीवविरुद्ध मुद्दा दर्ता गरेको छ। श्रीसान्तलाई यस मामिलामा तेस्रो अभियुक्त मानिएको छ। भारतीय प्रहरीले आईपीसीको धारा ४०२ अन्तर्गत तीन जना विरुद्ध मुद्दा दर्ता गरेको हो।

श्रीसान्त विरुद्ध यस्तो मुद्दा आएको यो पहिलो पटक होइन। यसअघि सन् २०१३ मा आइपिएलमा स्पट फिक्सिङको मुद्दामा पनि पक्राउ परेका थिए। त्यसपछि उनी राजस्थान रोयल्सको टोलीमा थिए।

बीसीसीआईले श्रीसान्तलाई आजीवन प्रतिबन्ध लगाएको थियो तर,७ वर्षपछि श्रीसान्त निर्दोष पाइएपछि उनीमाथिबाट यी सबै मुद्दा हटाइयो र प्रतिबन्ध पनि हट्यो। त्यसयता श्रीसान्त केरलाका लागि घरेलु क्रिकेट खेल्दै आएका छन्।

Logo