चार महिनामा करिब डेढ अर्बको चिया निर्यात

चार महिनामा करिब डेढ अर्बको चिया निर्यात


चार महिनाको अवधिमा नेपालमा उत्पादित करिब डेढ अर्ब रुपैयाँ बराबरको चिया निर्यात भएको छ। नेपाली चिया मुख्य रुपमा भारत निर्यात हुने गरेको छ। पछिल्लो समय समुद्र पारका मुलुकमा पनि नेपाली चिया लोकप्रिय बन्दै आएको छ। 

आन्तरिक बजारमा नेपाली चियाको खपत न्यून मात्रामा हुने गरेको छ। चालु आर्थिक वर्ष २०८०-८१ को पहिलो चार महिनामा ५७ लाख ७५ हजार किलोभन्दा बढी चिया निर्यात भएको छ। 

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक महिनामा एक अर्ब ४९ करोड ४४ लाख ४७ हजार रुपैयाँको चिया निर्यात भएको हो। नेपाली चिया जर्मनी, फ्रान्स, अस्ट्रेलिया, बेल्जियम, बुल्गेरिया, चेक रिपब्लिक, इटाली, जापान, भारत, चीन, अमेरिका, बेलायतलगायतका देशमा निर्यात हुँदै आएको छ।

तर,नेपाली चियाको मुख्य बजार भारत हो। समुद्र पारका मुलुकमा पनि पछिल्लो समय चिया निर्यात बढिरहेको चिया व्यवसायीहरुले बताएका छन्। इलामको फिक्कलका चिया व्यवसायी दिनेश अग्रवालका अनुसार विषादी प्रयोग नगरिएको अर्ग्यानिक चियाको माग समुद्रपारका मुलुकमा बढेको छ।

चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा करिब २७ हजार हेक्टरमा चिया खेती हुन्छ।त्यति क्षेत्रफलमा वार्षिक २३ हजार ७ सय ४५ मेट्रिक टन चिया उत्पादन हुन्छ। चिया खेतीमा १७ हजारभन्दा बढी किसान आबद्ध छन्। 

बोर्डका अनुसार नेपालमा वार्षिक करिब दुई करोड ८० लाख किलो चिया उत्पादन हुँदै आएको छ। उक्त परिमाणमध्ये शून्य दशमलव ५० प्रतिशत चिया मात्र आन्तरिक बजारमा खपत हुने गरेको तथ्यांक छ। 

नेपालमा उत्पादित चियामध्ये करिब ९९ प्रतिशत कोशी प्रदेशमा उत्पादन हुन्छ। कोसी प्रदेशका इलाम, झापा, पाँचथर, धनकुटालगायत जिल्लामा मुख्य रुपमा चिया खेती हुने गरेको छ। तर, पछिल्लो समय दोलखा, रामेछाप, सिन्धुपाल्चोक, कास्की, लमजुङ, ललितपुरलगायत जिल्लामा चिया खेती विस्तार भएको पाइन्छ।

नेपालमा अर्थोडक्स चिया उत्पादन गर्ने ३० र सिटिसी चिया उत्पादन गर्ने ३८ गरी ६८ वटा ठूला चिया उद्योग सञ्चालनमा छन्। यसैगरी अर्थोडक्स चिया उत्पादन गर्ने एकसय ५० वटाभन्दा बढी साना प्रशोधन उद्योग सञ्चालनमा छन्।

Skip This
Logo