सम्भावना भए पनि आयुर्वेद उपचार पद्धतिलाई विकसित गर्न सकेनौंः मन्त्री बस्नेत

सम्भावना भए पनि आयुर्वेद उपचार पद्धतिलाई विकसित गर्न सकेनौंः मन्त्री बस्नेत


स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकार आयुर्वेद उपचार पद्धतिलाई विकसित र व्यवस्थित गर्न पछाडि परेको स्वीकार गरेका छन् । 

आइतबार काठमाडौंमा आयोजित पहिलो अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् । उनले भने, ‘अरु उपचार पद्धति भन्दा पहिला त आयुर्वेद पद्धति नै हो नि । यो जतिबेला जहाँ पनि पाइने चिज हो । यसलाई जुन तरिकाले विकसित गर्नुपर्ने हो, व्यवस्थित गर्नुपर्ने हो, महत्व दिनुपर्ने त्यसमा हामी अलि पछि नै परेका छौं ।’

मन्त्री बस्नेतले नेपाल आयुर्वेद उपचार पद्धतिको विकासको लागि स्वर्ण भूमि रहेको भन्दै सरकारले जडिबुटीको यति ठूलो भण्डारलाई जति हदसम्म व्यवस्थित गर्न सक्नुपथ्र्यो त्यो गर्न नसकेको बताए ।

‘नेपाल आयुर्वेद उपचार पद्धतिका लागि वास्तबमा स्वर्णभूमि हो । नेपालमा प्राकृतिक संरचना, भौगोलिक विविधतालाई हेर्ने हो भने जडिबुटीको यति ठूलो भण्डार छ’ उनले भने, ‘यसलाई हामीले जति हदसम्म उत्खनन्, सदुपयोग र व्यवस्थित गर्न सक्नुपर्थ्यो त्यति गर्न सकेका छैनौं ।’

Logo