मंसिर २१ र २२ गते चौथो ‘जिम्मेवार व्यवसाय सम्मेलन’

मंसिर २१ र २२ गते चौथो ‘जिम्मेवार व्यवसाय सम्मेलन’


‘राष्ट्रिय व्यावसायिक पहल’को चौथो जिम्मेवार व्यवसाय सम्मेलन मङ्सिर २१ र २२ गते आयोजना हुने भएको छ । आइतबार राष्ट्रिय पहलले काठमाडौंमा पत्रकार सम्मेलन गरी दुई दिने चौथो सम्मेलन आयोजना हुने जानकारी दिएको हो । 

अडप्टिङ्ग टू इमर्जिङ्ग बिजनेश रियालिटिज’ भन्ने नारासहित सम्मेलन हुन लागेको आयोजक राष्ट्रिय पहलका अध्यक्ष कुशकुमार जोशीले जानकारी दिए । उनले समाज, वातावरण तथा अर्थतन्त्र गरी ३ विधाका ११ वटा विषयहरूमा विभिन्न प्रस्तुतिहरू मार्फत् गहन छलफल गरिने बताए ।

उनले भने, ‘सम्मेलनमा नेपालका उद्योग व्यवसायहरू बदलिँदो परिस्थिति र उदीयमान नवआयामहरूको परिप्रेक्ष्यमा जिम्मेवारपूर्ण ढंगले के कसरी अघि बढ्न सक्दछन् भन्ने सम्बन्धमा समाज, वातावरण तथा अर्थतन्त्र गरी ३ विधाको ११ वटा विषयमा गहन छलफल गरिनेछ ।’

विश्वव्यापी महामारीको असर, सञ्चार प्रविधिको द्रुत्त विकास र प्रभाव साथै विश्वव्यापी चासोको विषय रहेका डिजिटल अर्थतन्त्र, जलवायु परिवर्तन, प्रदूषण लगायतका विभिन्न कारणहरूले गर्दा उद्योग व्यवसायले आफ्नो व्यावसायिक सञ्चालन प्रक्रियालाई अनुकूलन गर्नुपर्ने आवश्यकता गहन बन्दै गएको हुनाले सम्मेलन सान्दर्भिक हुने जोशीले बताए ।

३० भन्दा बढी वक्ताहरू रहने सम्मेलनमा तीन सयभन्दा बढी व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिहरू, शिक्षाकर्मी, नागरिक समाज, सरकारी निकाय, बैङ्क तथा वित्तीय क्षेत्रको सहभागिता रहने जनाइएको छ । 

कार्यक्रममा काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट प्राज्ञिक साझेदार रहेको छ भने निजी क्षेत्रका अग्रणी संस्थाहरूको पनि सहकार्य रहनेछ ।

Logo