छिमेकी मुलुकहरुसँगको सीमा विवाद मोदीको अग्निपरीक्षा

छिमेकी मुलुकहरुसँगको सीमा विवाद मोदीको अग्निपरीक्षा


दक्षिण एशियाको सबैभन्दा ठूलो मुलुक भारत यतिबेला सीमा संकटमा नराम्रोसँग फसेको छ । सन् १९४७ मा ब्रिटिस साम्राज्यबाट स्वतन्त्र भएपछिको इतिहासमा भारत यसअघि एकैपटक कहिलेपनि नेपालसहित, चीन, पाकिस्तान, भुटानसँग सीमा विवादमा अल्झिएको थिएन ।

छिमेकी पहिलो भन्ने विदेश नीतिसहित सत्तामा आएका मोदी छिमेकीहरुसँगको सीमा विवादमा यसरी अल्झिएका छन् कि, कोरोना कहरले आतंक मच्चाएकै बेला एकैपटक चारवटा मुलुकसँग सीमा विवाद मिलाउन अग्रसर हुनुपरिरहेको छ । आफ्नै वरिपरिका छिमेकीलाई अवहेलना गर्दै अघि बढ्ने दिल्लीको मोदी विदेश नीतिले त्यहाँको सरकार कुटनैतिक मामिलामा आफैमा कति अस्थिर छ भन्ने छर्लंग पारेको छ ।

अघिल्लो कार्यकालमा कुटनैतिक कुशलता देखाउँदै बंगलादेश र श्रीलंकासँग सीमा विवाद सुल्झाउन अग्रसरता देखाएका मोदीले दोस्रो कार्यकालमा आइपुग्दा सदियौंदेखिको सांस्कृतिक, धार्मिक निकटसम्बन्ध रहेको नेपालसँग वार्तामा नबस्ने संकेत गर्नु हेपाहा प्रवृत्ति मात्रै थियो । त्यसकै प्रतिफल स्वरुप नेपाल भारत सम्बन्ध दिर्घकालसम्म असामान्य बन्ने संकेत देखिन थालेका छन् । नेपालको संसदले नै नयाँ नक्सालाई अनुमोदन गरेपछि अब स्थिती झन् जटिल बनेको छ ।

यसपटकको भारतको सीमा संकटको गहिराई दिल्लीका लागि अलि बढि नै चुनौतीपूर्ण बन्दै गइरहेको छ । सीमा विवादको ताजा घटना चीनसंगको हो, जहां दुई मुलुकबीचको विवाद छलफलको चरणमा छंदा नै हिंस्रक झडपकै अवस्थामा पुग्यो ।

एशियाका दुई ठूला मुलुक तथा नेपालको निकटतम छिमेकी भारत र चीनबीचको विवादित सीमामा ४५ वर्षपछि पहिलो पटक सैन्य भिडन्तमा भारतीय सेनाका कर्णेलसहित २० भारतीय सैनिको मत्यु भएको हो ।

विश्वका उदाउंदा शक्ति राष्ट्रबिचको बढ्दो तनावले पुरै विश्व तरंगित भरहेकाबेला यसले दक्षिण एशियाली मुलुकमाझ पनि निकै चिन्ता बढाएको छ ।

लद्याखस्थित विकट गलवान उपत्यकामा चीन र भारतबीचको सीमा क्षेत्रमा सोमवार राति भएको भिडन्तमा भारतीय सेनाले ठूलो क्षति ब्यहोर्दा चीनतर्फको क्षति स्पष्ट भएको छैन । चीनले आफुतर्फ कुनै हताहत नभएको दाबी गरिरहेको भने भारतले ४३ जना चीनिंया सेना घाइते भएको दाबी गर्दै आइरहेको छ ।

लद्याखमा दुई मुलुकका सेनाबीच भिडन्त भएको स्थान समुद्री सतहबाट करिव साढे चार हजार मिटर अग्लो छ । ४५ वर्षपछि यो क्षेत्रमा दुई मुलुकबीचको टकरावमा सेना मारिएका छन् । लाइन अफ एक्चुअल कन्ट्रोल, एलएसी, अर्थात पूर्वी लद्याखमा रहेको भारत र चीनबीचको यो सीमामा सेनाका हतियार र बख्तरबन्द मनाही गरिएको छ । सन् १९९६ मा दुबै मुलुकले संयुक्त रुपमा कुनैपनि वेला हिंसा भड्कन सक्ने आंकलन गर्दै बन्दुक, ट्याकं र ठूला हतियार यो क्षेत्रमा मनाही गरेका थिए ।

यस्तो अवस्थामा चीनले भारतका सेनालाई मुक्का, ढुंगा र फलामका हतियारले प्रहार गरेर ज्यान लिएको भारतीय सञ्चार माध्यमको दाबी छ । भारतीय सेनाका उच्च अधिकारीले चीनिंया सेनाले प्रयोग गरेको फलामको डण्डीमा किला खोपिएको घरेलु हतियार सार्वजनिक गरेका थिए ।

चीनिंया सेनाका पश्चिम कमाण्ड प्रवक्ताले भारतीय सैनिक एलएसी कटेर चीनतर्फ प्रवेश गर्दै चीनिंया बललाई उक्साएको र त्यसपछि भिंडन्त भएको बताएका छन् । ती शैन्य कमाण्डरले जारी विवाद रोक्न तत्काल दुई मुलुकविच वार्ता र छलफल आवश्यक रहेको पनि बताएका छन् ।
गलवान क्षेत्रमा पछिल्लो महिनादेखि बढीरहेको तनाव मथ्थर पार्न दुई मुलुकबीच वार्ता चलिरहेको थियो ।

भारतीय पक्षले शून्य डीग्री तापक्रम रहने यो क्षेत्रमा चीनिंया सैनिकले आफ्नो भूमि अतिक्रमण गरेकाले गस्ति बढाउनुपरेको दाबी गरेको छ भने चीनले सहमतिविपरीत भारतीय सेना दुईपटक सीमा पार गरेर आएको र उत्तेजित पार्ने गरेको काम गरेको आरोप लगाएको छ ।

भारत–चीनबीच जारी छलफलकै क्रममा भएको यो घटना यत्तिकै मथ्थर हुने सम्भावना कम छ । सन् १९६२ मा एकपटक युद्ध भइसकेकाले दुई मुलुकबीचको बढिरहेको तनावले दक्षिण एशियाली भूराजनीतिलाई असर गर्ने पक्का छ ।

कूटनीतिकरुपमा आक्रामक ढंगबाट प्रस्तुत भइरहेको चीन यो घटनापछि अब सैन्य रुपमा पनि त्यस्तै आक्रमक बन्ने त होइन भन्ने आशंकालाई थप बल पुर्याएको छ । यो क्षेत्रका दुई अणविक शक्ति मुलुकविचको टकरावका पछाडि प्रतिस्पर्धी रणनीतिक उद्धेश्य भएको कुरामा दुईमत छैन ।

उक्त क्षेत्रमा तैनाथ गरिएका आ–आफ्ना सैनिकहरुलाई सहयोग गर्न भन्दै दुबै मुलुकले रेल, सडकलगायतका पूर्वाधारमा जोड दिइरहेका छन् । भारतीय पक्षले तीब्ररुपमा निर्माण गरिरहेको एउटा सडक पूर्वाधार गलवान उपत्यका पुगेपछि अहिलेको ताजा घटना विकसित भएको हो ।

गत महिनादेखि नै भारत नेपालसंग पनि सीमा विवादमा अल्झिरहेको छ । कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रलाई लिएर भारत र नेपालविच टकराव बढेको हो । भारतले एकतर्फी रुपमा गत वर्ष नेपालको भूमि समेट्दै आफ्नो राजनीतिक नक्सा जारी गरेको बदलामा नेपालले पनि आफ्नो राजनीतिक नक्सामा यी क्षेत्र समेट्दै संविधान नै संसोधन गरेर आफ्नो भएको दाबीलाई माथी राखिसकेको छ ।

उता, भारत र पाकिस्तानबीच पनि दशकौंदेखि कश्मिरलाई लिएर विवाद जारी छ । यो क्षेत्रमा दुबै मुलुकको आ–आफ्नो दाबीकाबीच समस्या ज्यूंकात्यूं छ । सन् २०१७ मा भारत र चीनबीच नै देखिएको दोक्लम विवादमा सानो मुलुक भूटानले पनि आफ्नो क्षेत्र दावी गरिरहेको छ ।

जारी अवस्थामा भारत आफ्ना निकटम सबै छिमेकीसंग सीमा विवादमा अल्झिएको छ । यहीवेला कोरोना भाइरसविरुद्धको लंडाइ हार्दै गइरहेको भारत र त्यसैका कारण उसको गिर्दो अर्थब्यवस्थाले दिल्ली इतिहासकै एउटा गम्भिर मोडमा उभिएको छ । यी सबै स्थितीबाट पार पाउन भारत तथा त्यहांका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि कति चुनौतीपूर्ण छ, त्यो भविष्यम थाहा हुदै जाला ।

भारतीय छापा माध्यमहरुले दिल्ली आफ्नो विदेश नीतिको कठिन परिक्षाको समयबाट गुज्रिरहेको टिप्पणी गरिरहेका छन् । दिल्लीस्थित विदेशमामिला जानकार प्राध्यापक एस. डी. मुनिले भारतले तत्काल सबै मुलुकसंग अलग अलग तरिकाबाट वार्ता शुरु गर्नु जरुरी रहेको बताइरहेका छन् । चीनजस्तो ठूलो मुलुकसंग होस् वा नेपालजस्तो सानो मुलुकसंग, अथवा चीर प्रतिद्धन्दिभनिदै आएको पाकिस्तानसंगै नै किन नहोस्, वार्तावाहेकको विकल्प नभएको प्राध्यापक मुनिको ठहर छ ।

मुख्यगरि विश्व शक्ति बन्ने होडमा रहेको चीन र उदाउंदो क्षेत्रिय शक्ति राष्ट्र भारतबीचको सम्बन्ध नियन्त्रणबाहिर जान नदिन उच्च तहबाटै वार्ताको पहल गरिनुपर्ने खांचो छ । जुन समग्र विश्व र मुख्यगरि साना दक्षिण एशियाली मुलुकका हीतमा छ ।

Logo