बेलायतबाट असार १० र १२ गते नेपालीहरुको उद्धार गरिने

बेलायतबाट असार १० र १२ गते नेपालीहरुको उद्धार गरिने


लण्डन ।

कोरोना भाइरसका कारण भएको बन्दाबन्दीले विदेशमा रोकिएका नेपालीमध्ये बेलायतमा बस्नेहरु पनि नेपाल फर्कन पाउने भएका छन् ।

लण्डनस्थित नेपाली दूतावासको पहलमा गठित सूचना सङ्कलन सहयोग समितिमार्फत बिहीबार दिइएको जानकारी अनुसार असार १० र १२ गते नेपालका लागि उडान भर्ने निश्चित भएको छ । उडान लण्डनको ग्याटविक विमानस्थलबाट जजिरा एरवेजमार्फत दुवै दिन अपराह्न ठीक २ः४५ मा गरिने दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख शरदराज आरणले बताए । दुई हप्ता अघि दूतावासले बेलायतबाट नेपाल फर्कन चाहने ४२० जनाको विवरण नेपाल पठाएको थियो ।

पहिलो चार्टर्ड उडानको क्षमता केवल १५८ जनाको मात्र भएकाले दूतावासले पहिलो चरणमा लैजानेहरूलाई मात्र टिकट लिएर तयारी रहन भनी इमेल गरेको छ । दोस्रो चरणमा जानेहरूले केही दिनपछि मात्र टिकट लिन भनी सूचना पठाइएको दूतावासले बताएको छ ।

यसरी फर्कने नेपालीलाई तयारी स्वरुप आफ्ना राहदानी तथा पिसिआर वा आरडिटी परीक्षण नेगेटिभ वा कोरोनाको लक्षण नभएको भनी स्वास्थ्यकर्मीबाट प्रमाणित गरेको प्रमाणपत्र हुनुपर्ने भनिएको छ । त्यस्तै टिकटको रकम सम्पूर्ण करसहित ९२० पाउण्ड लाग्नेछ । नेपालबाट टिकट लिनका लागि सम्बन्धित व्यक्तिको सम्पर्क विवरण पनि उल्लेख गरिएको छ ।रासस

Logo