अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा सिलबन्दी

अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा सिलबन्दी


औषधि व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधि बिक्री गर्ने एक फार्मेसीलाई सिलबन्दी गरेको छ।

विभागको टोलीले कपन क्षेत्रका औषधि पसलबाट लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा मङ्गलबार नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिसँगको सहकार्यमा गरेको बजार अनुगमनका क्रममा अवैधरूपमा औषधि बिक्री वितरण गर्ने बुढानीलकण्ठ नगरपालिका-१० आदर्शनगर चोकस्थित लाइफ केयर फर्मालाई सिलबन्दी गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले बुढानीलकण्ठ क्षेत्रका चार वटा औषधि पसल अनुगमन गर्दा अवैधरूपमा औषधि बिक्री गर्ने लाइफ केयरमा सिलबन्दी गरिएको जानकारी दिए।

विभागको टोलीले उक्त पसलबाट विभिन्न ३६ प्रकारका औषधिसमेत बरामद गरेको छ। टोलीले ओखलढुङ्गा फर्मा, जेन्स हेल्थ केयर सेन्टर र सुर्याम्स फार्मेसीलाई सचेत गराएको प्रवक्ता ढुङ्गेलले बताए।

Logo