उत्तम थापा मगरको अर्धशतकमा पाकिस्तानलाई १५३ रनको लक्ष्य

उत्तम थापा मगरको अर्धशतकमा पाकिस्तानलाई १५३ रनको लक्ष्य


संयुक्त अरब इमिरेट्स (युएई)मा आजदेखि सुरु भएको एसिसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानलाई सामान्य लक्ष्य प्रस्तुत गरेको छ । 

दुबईको आइसिसी एकेडेमी ओझल–२ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४७.२ ओभरमा अलआउट हुँदै १५२ रन बनाएको हो । नेपालका लागि उत्तम थापा मगरले सर्वाधिक अर्धशतक प्रहार गरे । ७६ बल खेलेका उनले ३ चौका र २ छक्काको मदतमा ५१ रन जोडे । 

नेपालका दिपेश कडेँलले ३१ रन बनाए । उनले छैटौं विकेटका लागि उत्तम थापामगरसँग ६८ रनको साझेदारी गरेका थिए । कडेँलले ५९ बलमा २ चौका र १ छक्का प्रहार गरे। 

त्यसअघि नेपालले अलराउण्डर गुल्सन झालाई सस्तैमा गुमाएको थियो । नेपालले पाँचौं विकेटको रुपमा १६औं ओभरको अन्तिम बलमा गुल्सन झालाई एक रनमै गुमाएको हो । उनी राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी हुन्, उनी भरपर्दा युवा अलराउण्डर हुन् । तर, उनको अनुभव आज चल्न सकेन । उनी अल अस्फन्दको बलमा बोल्ड आउट भए । 

चौथो विकेटको रुपमा ओपनर अर्जुन कुमाल २१ रन बनाउँदै आउट भए ।  त्यसअघि नेपालले तेस्रो विकेटको रुपमा कप्तान देव खनाललाई पनि सस्तैमा गुमायो । उनी ११औं ओभरको चौथो बलमा शून्य रनमै आउट भए । १३ बल खेले तर, खाता खोल्न सकेनन् । यसअघि दोस्रो ओभरको दोस्रो बलमा पहिलो विकेटको रुपमा नेपालले ओपनर तिलक भण्डारीलाई ७ रनमै गुमाएको थियो । त्यसपछि क्रिजमा आएका आकाश त्रिपाठी पनि ६ रनमै आउट भए । आकाश २२ बलमा एक चौकाको मद्दतले ६ रन बनाउँदै आउट भए । उनलाई पाकिस्तानी बलर उबैद शाहले एलबीडब्लूको धरापमा पारेका थिए ।

यस प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा पाकिस्तान, भारत र अफगानिस्तान छन् । समूहका दुई शीर्ष टिम सेमिफाइनल पुग्नेछन्। फाइनल पुस १ मा हुनेछ।

Logo