सर्वसाधारणको भान्सा महँगिदै : राष्ट्र बैंक भन्छ- ‘मूल्यवृद्धि घट्यो’

सर्वसाधारणको भान्सा महँगिदै : राष्ट्र बैंक भन्छ- ‘मूल्यवृद्धि घट्यो’


काठमाडौं ।

पछिल्लो समय खाद्यान्नको बजारमूल्य पसलै पिच्छे फरक हुँदा सर्वसाधारणको भान्सा महँगिन थालेको छ ।

एकातिर कोरोनाका कारण रोजगारी गुम्ने, व्यवसाय ठप्प हुने र अर्काेतिर बजार मूल्य उच्च हुँदा सर्वसाधारण मारमा परेका छन् । कोरोना भाइरसको संक्रमण फैलिएसँगै सरकारले गत चैत ११ देखि मुलुकैभरी लकडाउन गरेको छ । सो बेलादेखि बजारमा पसलै पिच्छे खाद्यपदार्थको मूल्य फरक फरक छ । १५ दिन अगाडि १५ सय रुपैंयाँमा पाइने चामल अहिले कम्तिमा १६ सय रुपैंयाँमा कारोवार भइरहेको छ । कोरोनाको सन्त्रासले आक्रान्त भएका उपभोक्ता बजारमा खाद्यान्न, तरकारी, दुग्घ पदार्थदेखि अन्य वस्तुको मुल्यबृद्धि हुँदा उपभोक्ताको भान्सा पनि महँगो भएको हो ।

व्यवसायीहरुले लकडाउनका कारण वस्तु आयातमा समस्या भएकाले वस्तुको मूल्य बढेर आएकाले मूल्य बढेको बताउन थालेका छन् । बजार सञ्चालनमा आए पनि ढुवानीमा समस्या भएको तथा ढुवानी भाडा बढेकाले पनि खाद्यवस्तुको मूल्य बढी भएको व्यवसायीको तर्क छ ।

बजारमा मूल्य वढी लिने गरेको भएपनि वाणिज्य, आपूर्ति तथा उपभोक्ता सरंक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले भने बजार व्यवस्थापन गर्न सरकार सफल भएको दावी गरेका छन् । बजार अनुगमन जारी रहेको बताउँदै उनले बजार मूल्य भन्दा बढी मूल्य लिने २ सय भन्दा बढी व्यवसायी फर्मलाई कारबाही गरिरहेको बताए । तर उनले भने जस्तो बजारमा भने छैन । बजारमा व्यवसायीहरुले जथाभावी मूल्य बढाएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना बताउँछन् । बजार अनुगमन प्रभावकारी नहुँदा कृत्रिम मूल्यवृद्धि भएको उनको भनाई छ ।

तर राष्ट्र बैकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको दश महिनाको मुलुकको वर्तमान आर्थिक अवस्थाले जेठ महिनामा मूल्यबृद्धि कम भएको देखाएकोे छ । फागुन महिनासम्म ६ दशमलव ७० प्रतिशत रहेको उपभोक्ता मुद्रास्फीति वैशाखमा घटेर ५.८३ प्रतिशतमा झरेको छ । वैशाख महिनामा खाद्य तथा पेय पद्धार्थ समूहको मुद्रास्फीति ८.६६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६७ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएकोे छ । ०७६ वैशाखमा यी क्षेत्रहरुमा क्रमशः ६.०५ प्रतिशत,४.९४ प्रतिशत, ४.९५ प्रतिशत र ६.१३ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

Logo