अफगानिस्तानविरुद्ध नेपालको उत्कृष्ट बलिङ, हेमन्तले एकै ओभरमा लिए २ विकेट

अफगानिस्तानविरुद्ध नेपालको उत्कृष्ट बलिङ, हेमन्तले एकै ओभरमा लिए २ विकेट


नेपालले एसिसी यू–१९ एसिया कपमा अफगानिस्तानविरुद्ध लगातार विकेट हात पारेको छ । 

दुबईमा रहेको आइसिसी एकेडेमी ओभल–२ मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालका लागि तीव्र गतिका बलर हेमन्त धामीले एकै ओभरमा लगातार २ विकेट लिएका हुन् । ६ ओभरको दोस्रो बलमा दोस्रो विकेटको रुपमा हेमन्तले ओपनर खालिद तानिवाललाई १० रनमा क्याच आउट गराएका हुन् । त्यस्तै, तेस्रो बलमा अक्रम मोहम्मदजैलाई शून्य रनमा डकआउट गराएका हुन् । 

हेमन्त आजको खेलमा फर्किएका हुन् । यसअघि पाकिस्तानविरुद्ध उनले खेल्न पाएका थिएनन् । 

हाल अफगानिस्तान ७ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ३४ रन जोडेको छ । 

त्यसअघि नेपालका लागि अलराउण्डर गुल्सन झाले पहिलो विकेट दिलाएका हुन् । उनले पहिलो ओभरको पाँचौ बलमा अफगानिस्तानका ओपनर वाफिउल्लाह तरखिललाई १५ रनमा पवेलियन फर्काए । तरखिलले ९ बलमै २ चौका र एक छक्का प्रहार गरेका थिए । 

पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित भएको नेपाल अफगानिस्तानलाई हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गराउन चाहन्छ । अफगानिस्तान पनि पहिलो जितको खोजीमा छ । अफगानिस्तानले पहिलो खेलमा भारतसँग ७ विकेटले पराजित भएको थियो । 
    
उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारत, पाकिस्तान र अफगानिस्तान छन् । समूह ‘बी’ मा युएई, जापान, बङ्गलादेश र श्रीलङ्का छन् ।

Logo