नेपालमै किन लगानी गर्ने भन्ने प्रश्नको जवाफ हामीसँग छः अर्थमन्त्री महत

नेपालमै किन लगानी गर्ने भन्ने प्रश्नको जवाफ हामीसँग छः अर्थमन्त्री महत


अर्थमन्त्री डा. प्रकाशशरण महतले अन्य देशको तुलनामा नेपालमै किन लगानी गर्ने भन्ने लगानीकर्ताले सोध्ने प्रश्नको जवाफ आफूसँग रहेको बताएका छन् । 

आगामी वैशाख ९ र १० गते काठमाडौँमा आयोजना हुने तय भएको तेस्रो लगानी सम्मेलनबारे आज अर्थ मन्त्रालयमा विकास साझेदारसँगको छलफलपछि मन्त्री डा महतले भने, “नेपालमा धेरै माग छ, आपूर्ति कम छ । त्यसकारण नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य हो । नेपालमा जलविद्युत्, पर्यटन, सूचनाप्रविधि, कृषि लगानीका सम्भावित उर्वर क्षेत्र हुन् ।”

लगानीकर्ताले नेपालमा लगानीको वातावरणबारे के सोच्छन् र हामीले के कुरामा सुधार गर्नुपर्छ भन्नेमा आफू लागेको अर्थमन्त्री डा महतको भनाइ छ । “साना तथा मझौला उद्यममा पनि लगानी गर्न सकिन्छ । नेपालमा लगानीका लागि धेरै सम्भावनाका क्षेत्र छन् । लगानीका क्षेत्रमा देखिएका समस्या हटाउन सरकारले गम्भीर भएर काम गरिरहेको छ”, उनले भने । 

त्यस अवसरमा लगानी सम्मेलनलाई कसरी प्रभावकारी र नतिजामुखी बनाउन सकिन्छ भन्नेबारे विकास साझेदारसँग छलफल भएको थियो । विकास साझेदारका अनुभवका आधारमा दिइने सुझावलाई आत्मसात गर्दै कस्ता लक्ष्य र उद्देश्य लिनुपर्छ भन्नेबारेमा छलफल भएको उनले बताए ।

“सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विधेयक संसद्बाट चाँडै पारित भएर आउँछन् । हामी लगानी सम्मेलन अगावै नेपालको सार्वभौम साख मूल्याङ्कन (कन्ट्री रेटिङ)को काम सक्छौँ । सबै खालका समस्या र चुनौती हटाउन लागिपरेका छौँ”, विकास साझेदारसँगको छलफलका क्रममा अर्थमन्त्री महतले भने ।

Logo