जनताको समर्थनले एमालेको मनोबल बढेको छः अध्यक्ष ओली

जनताको समर्थनले एमालेको मनोबल बढेको छः अध्यक्ष ओली


नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको समर्थनले एमालेको मनोबल र आत्मविश्वास बढेको बताएका छन् । 

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राको क्रममा आज दोलखाको चरिकोटमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यात्राका क्रममा नागरिकले माया, ममता, स्वागत र आत्मीयपन देखाएको बताएका हुन् । गौरीशङ्करको काखमा रहेको कालिञ्चोक भगवती र दोलखा भीमसेनको आशीर्वादप्राप्त दोलखा धार्मिक र प्राकृतिक हिसाबले भरपुर रहेको उनको भनाइ थियो । 
    
एमालेको यात्राका क्रममा बालबालिका सहभागितालाई लिएर बालबालिकाको प्रयोग गरिएको भनि गरिएको प्रचारको अध्यक्ष ओलीले त्यस अवसरमा आलोचना गरे । एमालेले सुरु गरेको यो अभियान राष्ट्रिय उत्सवको अभियान भएकाले त्यसमा बालबालिकाले सहभागिता जनाउनु स्वाभाविक भएको उनको भनाइ थियो । 

अध्यक्ष ओलीले युवालाई देशमै राख्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । राजनीतिक पार्टीले अब विकास र सामाजिक सुधारको अभियन्ताका रूपमा काम गर्नुपर्ने उनको भनाइ थियो । 

Skip This
Logo