#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व604884436722730088682672749
नेपाल121261000206

अन्यत्र उपचार नपाए भक्तपुर अस्पताल जाऊँ !

भक्तपुर ।

कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको अवधिमा भक्तपुर अस्पतालले भने ९५६ अन्य बिरामीको स्वास्थ्य परीक्षण एवं उपचार गरेको छ । अधिकांश जिल्लाका निजी अस्पतालले बिरामीको ज्वरोसमेत नहेरी ढोकाबाटै फर्काइरहेको अवस्थामा भक्तपुर अस्पतालले भने आएका कुनै पनि बिरामीलाई नफर्काइ ओपिडी सेवासमेत सञ्चालन गरेको छ ।

भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले कोभिड–१९ को परीक्षण एवं आइसोलेसन छुट्टै सञ्चालन गरिएको र अन्य बिरामीका लागि छुट्टै व्यवस्था गरेर सेवा प्रवाह गरिरहेको जानकारी दिइन् । अस्पतालमा दैनिक ओपिडी, अल्ट्रासाउण्ड, प्रसूति सेवा सञ्चालन भइरहेको जानकारी दिँदै उनले लकडाउनकै अवधिमा पनि हड्डी भाँचिएको, एपेन्डीसाइड, सिजनर (प्रसूति) का शल्यक्रिया भइरहेको जानकारी दिइन् ।

अस्पतालले फिबर क्लिनिक सञ्चालन गर्दै आउने बिरामीलाई ढोकामै ज्वरो नापेर थप स्वास्थ्य परीक्षण एवं उपचार गर्ने गरिएको छ । अरु बेलामा निजी अस्पतालमा बिरामी पठाएर सिफारिस केन्द्र बन्यो भनेर आलोचना भइरहेको भक्तपुर अस्पताल सङ्कटको बेलामा भने आम नागरिकको भरोसाको केन्द्र बनिरहेको छ ।

यहाँ बीमाका बिरामीसमेत उपचारका लागि आउने गरेका छन् । यस अवधिमा बीमाका बिरामीले अस्पतालको फार्मेसीबाट ९० हजारको औषधि लगेका छन् । सरकारले सो अस्पताललाई कोरोना हब अस्पताल घोषणा गरेपछि कोरोनाको परीक्षण एवं उपचारका लागि अस्पताल पनि सक्रिय बन्दै आएको छ । अस्पतालमा हाल चार शैयाको आइसोलेसन वार्ड तयारी अवस्थामा राखेर कोरोना परीक्षणसमेत गरिरहेको छ । आवश्यक पर्दा थप १० शैयालाई आइसोलेसन बनाउन सकिने गरी तयारी अवस्थामा राखिएको छ ।

अहिलेसम्म विदेशबाट फर्किएका ८२ जनाको नमूना सङ्कलन गरी परीक्षणका लागि टेकु अस्पताल पठाइएकोमा ६० जनाको रिपोर्ट नेगेटिभ आएको र २२ जनाको रिपोर्ट आउन बाँकी रहेको उनको भनाइ छ । अस्पतालको आइसोलेसनका दैनिक दुई शङ्कास्पद बिरामीको उपचार हुने गरे पनि रिपोर्ट नेगेटिभ आएपछि घर पठाउने गरेको छ । अस्पताल आफैँले पनि व्यक्तिगत सुरक्षा कवच (पिपीई) खरिद गरेको र अन्य निकायबाट केही पिपीइ सहयोग आए पनि अभाव भने भइरहेको डा गौतमले बताइन् ।

अस्पतालमा मास्क, ग्लोब्स, पिपीइलगायतका अत्यावश्यक सामग्री अभाव भएपछि अस्पताल आफैंले कपडाको मास्क सिलाएको छ भने र पिपीइसमेत आफैँले एक टेलरमा सिलाउन तयारी गरेको छ । मेसु डा गौतमले विभिन्न निकायबाट आएको पिपीइ सकिएर समस्या आएपछि पिपीइमा प्रयोग हुने गुणस्तरीय कपडा ल्याएर टेलरलाई सिलाउन तयारी अवस्थामा राखिएको जानकारी दिइन् । सङ्घीय सांसद् एवं पूर्वमन्त्री महेश बस्नेतले मङ्गलबार सो अस्पताललाई नौ थान पिपीइ सहयोग हस्तान्तरण गरेका थिए ।

कोरोना परीक्षणमा रहेका चिकित्सकदेखि स्वास्थ्यकर्मीलाई अस्पतालले यहीं खाने तथा बस्ने व्यवस्था गरेको छ भने ज्वरो आएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखेको छ । अस्पतालमा कोभिड बुथसमेत राखेर सुरक्षितरूपमा बुथबाट नमूना सङ्कलन गर्न शुरु गरेको छ । अस्पतालमा आइसीयू सञ्चालनका लागि सरकारले एक करोड पठाएको जानकारी दिँदै डा गौतमले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालसहितको टोली आइसीयू सञ्चालन र सेवा वृद्धिका लागि खटिइरहेको जानकारी दिइन् ।

अस्पतालले कोभिड–१९ का बिरामीका लागि दुई भेन्टिलेटर आवश्यक पर्दा तत्काल सञ्चालन गर्न सकिने गरी तयारी अवस्थामा राखेको छ भने थप दुई भेन्टिलेटर शल्यक्रिया कक्षमा सञ्चालनमा राखेको छ । अस्पतालले पाँच शैको आइसीयू सञ्चालनका लागि सरकारले निर्धारण गरेको मूल्यमा सामान खरिदको तयारी गरिरहेको छ । उनले आइसीयूका लागि आवश्यक कम्तीमा छ चिकित्सक, एक एनेस्थेसिया र कम्तीमा १६ नर्सको व्यवस्था भने करारमै भए पनि गर्नुपर्ने बताइन्।रासस

सम्बन्धित समाचारहरु