काठमाडौंमा २६४ बस विसौनी निर्माण गर्ने तयारी

काठमाडौंमा २६४ बस विसौनी निर्माण गर्ने तयारी


काठमाडौं महानगरपालिकाले २६४ ठाउँमा बस विसौनी निर्माण गर्ने योजना बनाएको छ । 

बस विसौनीसँगै नगरभित्र यातायात प्रणालीको सुधारका लागि बसको रुट मिलाउने, पेलिकन क्रसिङ् लाइट विस्तार गर्दै जाने, एकतर्फी सडकहरुको व्यवस्थापन गर्ने, मोटरसाइकल ग्यारेज सञ्चालनका लागि मापदण्ड बनाउने, सडकमा कोन र डिभाइडरको व्यवस्थापन गर्ने, पेट्रोल पम्प व्यवस्थापन गर्ने, सडक संकेत र चिन्ह व्यवस्थापन गर्नेलगायत काम गर्ने तयारी गरेको छ । 

यससँगै दैनिक उपभोग्य बस्तुको ढुवानी, मालबाहक सवारी, विद्यालयका बसहरुको समय निर्धारण गर्ने, पार्किङ्ग व्यवस्थापन गर्ने, विद्यालयमा यातायात प्रणाली सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने महानगरको तयारी छ । 

२९औँ महानगर दिवस २०८० का अवसरमा आज महानगरपालिकामा आयोजना गरिएको महानगरपालिका र ट्राफिक प्रहरीविच समन्वय तथा सहकार्य सम्बन्धी अन्तरक्रियामा यस सम्बन्धी जानकारी दिइएको हो । 

कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले, संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को पहिलो बैठक सम्पन्न भइसकेको जानकारी गराउँदै सम्बद्ध कार्यालयहरुसँग सहकार्य अगाडि बढाइएको उल्लेख गरे । अहिले यातायात व्यवस्थापनमा सानातिना सुधारका कामबाटै सुरुवात गरी प्रणालीमा सुधार ल्याउनेमा महानगरले जोड दिएको छ । 

काठमाडौंमा अटो रिक्सा,इरिक्सा र ठेला प्रयोगमा पूर्ण रोक लगाउने अधिकारीको भनाइ छ ।

अन्तर्क्रियामा प्रस्तुतिकरण गर्दै अतिरिक्त प्रहरी महानिरीक्षक पोषराज पोखरेलले महानगरपालिकासँगको सहकार्यमा जनशक्तिमा प्रोत्साहन बढ्ने, प्रणालीमा सुधार हुने काम गर्न सकिने बताए । बागमती, विष्णुमती, धोवीखोला र मनोहरा करिडोरलाई दुईतर्फी सञ्चालन गराई  सवारी चाप कम गराउन सकिने बताउँदै पोखरेलले, यसका लागि महानगरपालिकाको भूमिका आवश्यक रहेको कार्यक्रममा बताए । 

यातायात प्रणाली सुधारका विषयमा प्रस्तुतिकरण गर्दै महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले, ट्राफ्रिक संकेत चिन्हहरु मिलाउन तत्काल काम थाल्नुपर्ने उल्लेख गरे । यस्ता चिन्हरु देखिने र स्पष्ट हुनुपर्ने, चालकले बुझ्न सजिलो हुनेगरी बनाउनुपर्नेमा उनले जोड दिए। 

सल्लाहकार श्रेष्ठले प्रणालीमा सुधार गर्न यस बर्ष यातायात क्षेत्रको सुधारका लागि ४४ करोड रुपैयाँ छुट्याएर काम भइरहेको जानकारी दिए । 

Skip This
Logo