भूकम्प प्रभावितका लागि काँग्रेसले बनायो थप ५० टहरा

भूकम्प प्रभावितका लागि काँग्रेसले बनायो थप ५० टहरा


जाजरकोट भूकम्पबाट पीडितहरूकालागि एक हजार वटा अस्थायी आवास निर्माण गर्ने घोषणा गरेको काँग्रेसले रुकुम पश्चिममा थप ५० वटा टहरा निर्माण गरी हस्तान्तरण गरेको छ।

केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी नेतृत्वको टोलीले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा ५० वटा अस्थायी आवास निर्माण गरी हस्तान्तरण गरेको हो।

‘म आफैँ पनि १० दिनसम्म फिल्डमा खटिएँ, हामीले दुई चरणमा गरेर ५० वटा अस्थायी आवास निर्माण गरी पीडितलाई हस्तान्तरण गरेका छौँ,’ केन्द्रीय सदस्य शिवाकोटीले भने। 

उनका अनुसार वडा नं. ११ मा २१ वटा, वडा नं. १२ मा ४ वटा, वडा नं. १३ मा ६ वटा र वडा नं. १४ मा १९ अस्थायी आवास निर्माण गरिएको छ। ‘भूकम्पको यति लामो समय भइसक्यो, तर अझै पनि पीडितसम्म सरकार पुगेको छैन, एकल महिला, वृद्धवृद्धा, अभिभावक गुमाएका, अपाङ्गता भएका र परिवारका सदस्य विदेशमा भएकाहरूलाई सामान्य टहरो ठड्याउन पनि सकस परेको छ,’ उनले भने, ‘हामीले त्यस्तै परिवारलाई प्राथमिकतामा राखेर काम गरेका छौँ।’

सरकारी राहत नपुगेको गाउँमा केन्द्रीय सदस्य शिवाकोटीले अस्थायी आवास बनाउन पीडित परिवारलाई भार नपर्ने गरी व्यवस्था गरी निर्माण गरेको बताए। सरकारले अस्थायी आवास तत्काल ५० हजार रुपैयाँका दरले अनुदान दिने निर्णय गरेको थियो। तर त्यो रकम पीडितको हातमा अहिलेसम्म पनि पुगिसकेको छैन। 

नेता शिवाकोटीले आफूहरूले पार्टीकै संयन्त्रमार्फत् देश विदेशबाट सहयोग रकम संकलन गरी आवास खडा गरेको बताए। काँग्रेस भूकम्प लगत्तै महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई प्रभावित क्षेत्रमा अनुगमन र सहजीकरणकालागि खटाएको थियो।

फर्किएर आउँदा महामन्त्रीद्धय थापा र शर्माले अस्थायी आवास बनाउन तत्काल अनुदान दिन सिफारिस गरेका थिए भने काँग्रेस आफैँले एक हजार वटा अस्थायी आवास बनाउने घोषणा गरेका थिए। त्यसयता काँग्रेसका केन्द्रीय सदस्यहरूसहितको टोलीले निरन्तर आवास निर्माण गरिरहेको छ। 

Logo