मेलम्चीको पानी छिटो ल्याउन माग गर्दै काठमाडौँका बासिन्दा आन्दोलित

मेलम्चीको पानी छिटो ल्याउन माग गर्दै काठमाडौँका बासिन्दा आन्दोलित


मेलम्ची खानेपानी आयोजनाको मर्मत सम्भार गरी यथाशीघ्र पानी ल्याउन माग गर्दै काठमाडौँका बासिन्दा आन्दोलित बनेका छन्।

यसअघि स्थानीय संघर्ष समिति नै गठन गरी अर्थमन्त्री प्रकाशसरण महत र खानेपानीमन्त्री महेन्द्र राय यादवलाई भेटेर ज्ञापन पत्र समेत बुझाइसकेका उनीहरूले चरणवद्धरुपमा विभिन्न कार्यक्रम गरी सरकारलाई दबाब दिइरहेका छन्। 

मेलम्चीको पानी छिटोभन्दा छिटो उपलब्ध गराउन सरकारलाई दबाब दिन नागरिकको  हैसियतले आफूहरूले पहल थालेको संघर्ष समितिका संयोजक गोविन्दराज पन्तले बताए। 

करिब ६ महिनादेखि मेलम्ची अवरुद्ध हुँदा पनि सरकारले चासो नदिएकोप्रति स्थानीयबासी आक्रोसित छन्। मेलम्चीको पानी गत वर्षामा बाढीले क्षति पुर्याएपछि काठमाडौँमा झरेको छैन। 

आयोजनाको पहिलो चरणको काम सकिएपछि ०७७ सालमा काठमाडौँमा पानी आएको थियो। अहिलेसम्म आयोजनाको सम्पूर्ण काम समेत पूरा भइसकेको छैन भने मेलम्चीबाट ल्याइएको पानीसमेत निरन्तर छैन। वर्षेनि बाढीका कारण आयोजनामा क्षति हुने बित्तिकै लामो समयसम्म पानी बन्द हुने गरेको छ। 

काठमाडौंको कोटेश्वर क्षेत्रका बासिन्दाले चरणवद्ध रुपमा सरकारलाई दबाब दिन आन्दोलनका कार्यक्रम गरिरहेका छन्। सोमबारदेखि सडकमा उत्रिएर आन्दोलनका थप कार्यक्रम अघि बढाउने संघर्ष समितिको तयारी छ। यसअघि काठमाडौंमा नेकपा एमालेले पनि मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउन दबाबस्वरुप सडकमा प्रदर्शन गरेको थियो।

नागरिकहरूले भने १२ मंसिरमा खानेपानी मन्त्री यादवलाई भेटेर ध्यानाकर्षण गराएका थिए। भेटमा मन्त्री यादवले यथासिघ्र आयोजनाको मर्मत गरी पानी ल्याउने बचन दिएपनि अहिलेसम्म काम अघि बढेको छैन।

शुक्रबार आयोजनास्थल पुगेर फर्किएका सांसद प्रदीप पौडेलले आयोजना स्थलमा धेरै काम नभएपनि सरकारको चासो कम देखिएको भनेका थिए। स्थानीयबासीहरूले भने सरकारले अटेरी गरेपछि आफूहरू थप संघर्षका कार्यक्रम गर्न बाध्य बनेको बताएका छन्।  

Skip This
Logo