‘पैसाकै अभावमा उपचार नपाएर कसैले ज्यान गुमाउनु पर्दैन’ -प्रधानमन्त्री प्रचण्ड [भिडियाे]

‘पैसाकै अभावमा उपचार नपाएर कसैले ज्यान गुमाउनु पर्दैन’ -प्रधानमन्त्री प्रचण्ड [भिडियाे]


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट बनेको संविधानले ऐतिहासिक रुपमा आमजनतालाई सार्वभौम बनाएको बताएका छन्।

शनिबार मकवानपुरको हेटौंडामा मानव सेवा आश्रमको मुख्य कार्यालय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको संविधान २०७२ अघि कहिल्यै पनि जनतालाई सार्वभौम भनेर घोषणा नगरिएको बताएका हुन्। ‘हामीले धेरै लामो संघर्ष, त्याग र बलिदानबाट संविधान सभाबाट नयाँ संविधान बनायौँ। यो संविधानले आम नेपाली जनतालाई सार्वभौम बनाएको छ,’उनले भने, ‘नेपालको इतिहासमा कहिल्यै पनि जनता सार्वभौम भनेर संविधानको घोषणाको आधिकारिक मानिएको थिएन।’

प्रधानमन्त्री प्रचण्डले संविधानमा उल्लेख गरिएका मौलिक हकहरुले व्यवहारिक रुप पाएको भन्दै अब कुनै पनि नागरिकले उपचार नपाएर मर्नुपर्ने अवस्था नआउने दाबी गरे। उनले भने,‘कसैले आर्थिक समस्याका कारण शिक्षा, स्वास्थ्य आदिबाट बञ्चित हुनुपर्दैन। उपचार नपाएर कोही मर्नु पर्दैन। त्यसको जिम्मा राज्यले लिन्छ। यो युगान्तकारी कुरा हो।’

उनले मानवतासम्बन्धी सन्देशबाट नेपाललाई चिनाउन सकिने बताए । “विश्वलाई शान्तिको सन्देश दिएको नेपालले मानवतासम्बन्धी नयाँ सन्देश दिन सक्छ । मानव सेवामा समर्पित व्यक्तिको निरन्तरको प्रयासबाट यो सम्भव छ”, उनले भने, “शान्तिको सन्देश पनि नेपालले नै दियो । मानवतासम्बन्धी सन्देश नेपालबाट दिन सक्छौँ । यहीबाट नेपाललाई चिनाउन सकिन्छ ।” 

मानवताभन्दा ठूलो धर्म केही नरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले मानवीय सेवामा लाग्न सम्पूर्ण नेपालीलाई आग्रह गरे । “विभिन्न धर्म, राजनीतिक वाद, जेजे भनिए पनि ती सबै मानव सेवाका लागि ल्याइएको हो । कुनै पनि रुपमा विभाजित नभएर एकताबद्ध भएर मानव सेवामा लाग्नुहोला, असहायलाई सहयोग गर्नु सबैभन्दा ठूलो धर्म हो”, उनले भने । उनले सङ्घ, प्रदेश र स्थानीय तहलाई मानव सेवाको अभियानमा सक्रियतापूर्वक लाग्नु पर्ने भन्दै मानवताको क्षेत्रमा अविचलित रुपमा खटिइने सामाजिक संस्था तथा व्यक्तिलाई सहयोग गर्नसमेत अपिल गरे । 

भिडियाे- https://fb.watch/oZ5wB6ZQBp/

Logo