सिताराम विवाह सम्पन्न, आज राम कलेवा

सिताराम विवाह सम्पन्न, आज राम कलेवा


रंगभूमि मैदान (वरहविघा)मा स्वयंवर र रात्रिकाल जानकी मन्दिरमा बनाइएको भव्य विवाह मंडपबीच रामसीता विवाह सम्पन्न भएको छ।

त्रेताकालमा मिथिलाका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष झैँ यस वर्ष पनि वैवाहिक समारोह मनाइएको छ।

अयोध्याबाट सीता र रामको डोला ल्याई आएका जन्तीको उपस्थिति र श्रद्धालुको सहभागितामा आइतवार स्थानीय रंगभूमि मैदानमा स्वयम्बर समारोह गरिएको थियो। 

ढोल पिपही, सहनाई, बैन्डबाजासहित रंगभूमि मैदान पुगेको रामसीताको डोलाबीच मालाफेर हुँदा नेपाली सेनाको हेलिकप्टरले आकाशबाट पुष्पवृष्टि गरेको थियो।  नेपाली शेनाका महिला सांगीतिक समूहले डोला नगर परिक्रमा गरी राखदा पञ्चे बाजा समेत बजाएका थिए।

साँझ जानकी मन्दिर प्रांगणमा बनाइएको भव्य मण्डपमा मिथिला परम्पराअनुसार सीतारामको विवाह भएको छ। यस्तै एक सातासम्म चलेको विवाहपञ्चमीको अन्तिम दिन आज राम कलेवा हुँदैछ।

रामकलेवामा जानकी मन्दिरमा विशेष भण्डारा (भोज) को आयोजना गरी विहेमा जन्तीको रूपमा आएका पाहुनाहरुलाई भोजन गराइन्छ। भोजन पश्चात् आज साधु सन्त लाई दक्षिणा प्रदान गरी बिदा गर्ने परम्परा छ। विवाहपञ्चमी महोत्सव आज रामकलेवा भएसँगै सकिनेछ।

Logo