माछापुच्छ्रे बैंक, नेप्स र सिटीटेकद्वारा ‘एकीकृत व्यापारी व्यवस्थापन प्रणाली’ संचालनको लागि सम्झौता

माछापुच्छ्रे बैंक, नेप्स र सिटीटेकद्वारा ‘एकीकृत व्यापारी व्यवस्थापन प्रणाली’ संचालनको लागि सम्झौता


माछापुच्छ्रे बैंक लिमिटेड, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स लिमिटेड (नेप्स) र सिटीटेकबीच एकीकृत व्यापारी व्यवस्थापन प्रणाली गेट पे सञ्चालन गर्न सम्झौता भएको छ।

सोमबार नेप्सका प्रमुख कार्यकारी अधिकृत संजीव सुब्बा, सिटीटेकका प्रमुख कार्यकारी अधिकृत साजन शर्मा र माछापुच्छ्रे बैंकका नायब महाप्रबन्धक प्रसिद्धराज अर्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

नेप्स र सिटीटेकको सहकार्यमा विकास गरिएको गेट पे नामक एमएमएस सञ्चालनमा आइसकेपछि हाल छरिएर रहेका विभिन्न भुक्तानी उपकरण र सञ्जालहरुलाई बैंक र व्यापारीहरुले एकीकृत रुपमा व्यवस्थापन गर्न सक्नेछन्।

सम्झौताले व्यापारीहरुको हाल भुक्तानी उपकरण तथा सञ्जालसँग अलग-अलग रजिष्ट्रेसन तथा व्यवस्थापन गर्नुपर्ने प्रक्रियालाई सरलीकृत गर्दै एकै प्लेटफर्म मार्फत सो कार्य गर्ने क्षमता प्रदान गर्ने विश्वास गरिएको छ।

साथै हाल प्रचलनमा आइरहेका सबै भुक्तानी उपकरणहरु तथा सञ्जालहरुलाई समेटी एकै प्रणालीबाट बैंक तथा व्यापारीहरुलाई सेवा लिन र दिन सहज हुनेछ भने कारोबारी र कारोबारसँग सम्बन्धित महत्वपूर्ण डाटाहरुको पहुँच र नियन्त्रण बैंक तथा व्यापारीहरुमा पुग्ने, पटक पटक व्यापारीको रजिष्ट्रेसन र व्यवस्थापन गर्नुपर्ने हालको झन्झटिलो प्रक्रियाको समाधान हुने र व्यापारीहरुलाई बैंकहरुले अझ परिष्कृत सेवाहरु प्रदान गर्न सहज हुने लगायतका विशेषता गेट पे मा रहेका छन्।

सम्झौतापछि, तीनै पक्षले सकेसम्म चाँडो यसलाई प्रयोगमा ल्याउने र नेपाली भुक्तानी जगतमा नयाँ आयामको रुपमा थपिने दाबी गरेका छन् ।

Logo