नेपालीहरुको निःशूल्क उद्धार गर्न सरकारको ध्यानाकर्षण

नेपालीहरुको निःशूल्क उद्धार गर्न सरकारको ध्यानाकर्षण


राष्ट्रियसभाको शून्य समयमा बोल्ने सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबारको बैठकमा बोल्ने सांसदहरुले क्वारेन्टाइन व्यवस्थापन देखि विदेशमा रहेका नेपालीहरुको उद्धार निःशूल्क गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद राम नारायण विडारीले स्वदेशमा रोजगारी नपाएपछि विदेश गएका उर्जावान युवाहरु महामारीका कारण घर फर्किन चाहेपनि भाडा तिर्ने पैसा नभएकाले फर्किन नपाएको तर्फ सरकारको ध्यानाकर्षण गराए । सरकारले रोजगारी नदिएर धकेली धकेली युवाहरुलाई विदेश पठाएपनि रोग र भोकले ग्रस्ता भएकोले उद्दार गर्न नसकेको उनले बताए ।

उनले भने, ‘‘राम्रा राम्रा र बलिया बलिया युवाहरु रोजगारीका लागि विदेशमा छन् । उनीहरु अहिले विदेशमा अलपत्र छन् रोग र भोकले ग्रस्त छन् । स्वदेश आउन आतुर छन् तर रकम छैन् अभाव छ । भाडा तिर्ने पैसा छैन् शरीरपनि जिर्ण भएको छ । नेपालमा काम नदिएको कारणले धकेली धकेली यसपाली विदेश कति पठाउने भन्दै प्रतिस्पर्धा गर भन्दै पठाउँदै गरिएको भएर उनी अहिले अलपत्र परियो भन्छन् । तीनि हरुलाई कसरी ल्याउने ? पैसा नभएको मान्छे पनि त नेपाली हो र यहाँ आउनुपर्यो नी ।’’

उनले दुर्व्यसन र लागुऔषधले लिप्त भएर बसिरहेका युवाहरुलाई संरक्षण गरी कसरी रोकथाम गर्न सकिन्छ भन्ने तर्फ गृहमन्त्रालयको ध्यान जानुपर्ने बताए । सांसद विमला घिमिरेले मकवानपुरको हेटौडामा एक महिलाको ढुंगाले हानेर हत्या गरिउको घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाहीगर्न माग गरे । ६ महिना अगाडि दुर्घटनामा श्रीमान गमाएकी ति महिलालाई पहिले देखि नै घरका सदस्य मानसिक तनाव दिँदै आएको कुराहरु बाहिर आइरहेको उल्लेख गर्दै उहाँले दोषिलाई कडा कारवाही गर्न माग गरे ।

सांसद शारदादेवी भट्टले कैलाली घटनाका दोषिलाई कडा कारवाही गर्न माग गरे । महिलाहरु बाहिरको क्वारेन्टाइनमा असुरक्षीत रहेकाले आवश्यक सुरक्षा व्यवस्था मिलाएर होम क्वारेन्टाइनमा राख्न उनले आग्रह गरे  ।

सांसद विमला राई पौडेलले घरघरमा जनतालाई सेवा दिने भनेर संघीयतामा देश भएको भएपनि स्थानीय तहमा निर्माण भएका क्वारेन्टाइनहरुको अवस्था दुःख लाग्दो भएको बताउनुभयो । उहाँले कोभिड-१९ संकट व्यवस्थापन केन्द्रमा महिला मन्त्रालयको सहभागिता हुनुपर्ने माग गरे ।

सांसद शेरबहादुर कुँवरले सुदूरपश्चिम प्रदेशमा भारतबाट ९० हजार बढी नागरिकहरु आएको र अहिले प्रत्येक जिल्लामा १० हजारभन्दा बढी व्यक्तिहरु क्वारेन्टाइनमा रहेको बताए । हजारौँको संख्यामा क्वारेन्टाइनमा रहेका व्यक्तिको परीक्षण हुन नसकेको आरडिटी पोजेटिभ देखिएका व्यक्तिहरुको पीसीआर परीक्षण ढिलाइ भएको उनले बताए ।

सांसद रमेशजंग रायमाझीले मंगलबारे अस्पतालको नाम प्रदेश सरकारले परिवर्तन गरी मदनभण्डारी राखेको प्रति आपत्ति जनाए । स्थानीयहरुको विरोधकाबीच प्रदेशको नाम परिवर्तन भएको उहाँले बताउनुभयो । अस्पतालको नाम परिवर्तन नगर्न आग्रह गर्दै उनले मदन भण्डारीको नाममा अस्पताल चाहिने भए सुन्दर हरैचा नगरपालिकामा आफुले जग्गा उपलब्ध गराउने उनले बताए ।

सांसद सुमनराज प्याकुरेलले सम्भु सदाको थुनामा मृत्यु भएको घटनाको छानबिन अघि बढ्न नसकेको प्रति दुःख व्यक्त गरे  । प्रहरीको टर्चरका कारण मृत्यु भएको भन्दै परिवारले अहिलेसम्म शव नउठाएको उल्लेख गर्दै उनले सरकारी वकिल कार्यालयबाट हिजो मुद्दा दर्ता भएपनि छानबिन सुरुनभएको बताए ।

Logo