यात्रुकाे गुनासो आएपछि अध्यागमन विभागद्धारा विमानस्थलकाे निरीक्षण

यात्रुकाे गुनासो आएपछि अध्यागमन विभागद्धारा विमानस्थलकाे निरीक्षण


अध्यागमन विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आफू मातहतको एयरपोर्ट अध्यागमन कार्यालयको निरीक्षण गरेको छ । यात्रुका धेरै गुनासो आएपछि बुधबार विभागको टोलीले निरीक्षण गरेको हो । 

विमानस्थलमा यात्रुहरुले भोग्नु परेका समस्या र समाधानका लागि गर्नुपर्ने कामका विषयमा अनुगमन निरीक्षण गरिएको अध्यागमन विभागका प्रमुख कार्यकारी निर्देशक रुद्रसिंह तामाङले बताए । ‘यत्रो कक्ष छ । त्यहाँ भरिएर पैसा तिरेर फेरि यता लाइन बस्नुपर्छ, बस्ने ठाउँ नभएर । यही प्रोसेसलाई हामीले घटाउन खोजिरहेका छौं,’ उनले भने । 

अध्यागमनमा पर्यटकले बुझाउने रकममा पनि समस्या रहेको कार्यकारी निर्देशक तामाङले बताए ।  ‘डलर नेपाल सरकारको खातामा आउने व्यवस्था गर्न प्रोसेस गर्दै छौं,’ उनले भने, ‘नेपाली रुपैयाँ भए पनि राजस्व खातामा जम्मा हुने व्यवस्था गरिसकेर यो प्रक्रिया अगाडि बढाउँछौं । त्यो भयो भने एउटा हामीले ब्रेक थ्रु गर्छौं ।  यसको धेरै कुरा भइसकेको छ । सरकारको पेमेन्ट खातामा आउने व्यवस्था तत्काल नै गर्ने छौं ।’ 

यात्रुलाई सटही सुविधा पनि सहज बनाउनुपर्ने देखिएको उनले बताए । ‘डलर खाता नै लिनका लागि नयाँ ऐन आवश्यक पर्ने भएकाले बजेट भाषण कुर्नुपर्छ । तर, नेपाली पैसा नै लिनका लागि कुर्नु पदैन । त्यसका लागि सिस्टम बनाउने हो, हामीले अनुरोध गरिरहेका छौं,’ उनले भने । 

आवागमन गर्ने यात्रुलाई सहजता प्रदान गर्नका लागि सम्बन्धित निकायहरुले गरेका कामको अनुगमन एवं निरीक्षण गरिएको उनले बताए ।

अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ अध्यागमन अधिकृत गोकर्णप्रसाद उपाध्यायले विमानस्थलको अध्यागमन कार्यालयको प्रस्थान कक्षमा सेवाग्राहीको सुविधाका लागि १४ वटा डेस्कहरु राखिएकोमा ४ वटा काउन्टर विदेशी र बाँकी १० वटा नेपाली नागरिकका लागि रहेको जानकारी दिए । 

अहिले एक दिनमा करिब ९ देखि १० हजार यात्रु नेपालबाट अन्य मुलुकतर्फ प्रस्थान गर्ने गरेको उनले बताए । एउटा कर्मचारीले तीनदेखि चार सय जनाको हाराहारीमा यात्रुहरुलाई अध्यागमनको प्रक्रियामा सेवा दिने गरेको उनको भनाइ थियो ।  

Logo