काँग्रेसमा जुँगाको लडाईः एक-अर्कालाई नेता मान्दैनन् खड्का र कोइराला

काँग्रेसमा जुँगाको लडाईः एक-अर्कालाई नेता मान्दैनन् खड्का र कोइराला


नेपाली काँग्रेसमा निरन्तर रहेको वरियता विवाद यतिबेला छताछुल्ल भएको छ।

१४ औँ महाधिवेशनपछि नेताहरूबीच एक अर्कामा को वरिष्ठ र को कनिष्ठ भन्ने आधारमा एकले अर्कालाई अस्वीकार गर्ने जुँगाको लडाई चलेको छ। महाधिवेशन सम्पन्न भएलगत्तै केन्द्रीय कार्यसमिति बैठकबाटै सुरू भएको त्यस्तो विवाद अहिले आएर छताछुल्ल बनेको हो। 

सभापति शेरबहादुर देउवासँग सभापतिमा पराजित नेता शेखर कोइराला र निर्वाचित उपसभापति पूर्णबहादुर खड्काले एक-अर्कालाई नेता स्वीकारेका छैनन्। 

कोइराला उपस्थित कार्यक्रममा खड्का पुग्दैनन्, खड्का पुगेका कार्यक्रममा कोइराला जाँदैनन्। खड्का र कोइराला पार्टीका बैठकबाहेक एउटै कार्यक्रममा सँगै उपस्थित नै हुँदैनन्। 

दोस्रो वरियता नपाउने अवस्था भए दुवैले कार्यक्रम बहिष्कार गर्दै आएका छन्। बिहीबार हुन लागेको मधेश प्रदेश सम्मेलनमा कोइरालाले सभापति देउवापछिको वरियता नपाउने भएपछि सम्मेलनमै नजाने निर्णय लिएका छन्। 

यसअघि सभापति देउवापछिको वरियतामा कोइरालालाई राखिएको भन्दै उपसभापति खड्का लुम्बिनी र गण्डकी प्रदेश सम्मेलनमा गएनन्। हाल काँग्रेसको वरियताक्रममा सभापति देउवापछि उपसभापति खड्का छन्।

तर पछिल्लो समय पार्टीकै दर्जनौँ कार्यक्रमहरूमा सभापति देउवापछिको वरियतामा नेता कोइरालालाई राखिएको छ। जहाँ उपसभापति खड्का सहभागी भएनन्। तर अर्का उपसभापति धनराज गुरूङसहित अन्य पदाधिकारीले भने कोइरालालाई देउवापछिको वरियतामा स्वीकारेका छन्। 

महाधिवेशनयता देउवा-कोइराला एकै मञ्चमा देखिएका सबैजसो कार्यक्रममा उपसभापति खड्का उपस्थित छैनन्। यसबाट विगतदेखि नै कोइराला र खड्काबीच वरियताको लडाईं रहेको प्रष्ट छ। तर त्यो विवाद बिहीवार हुन लागेको मधेश प्रदेश सम्मेलनबाट छताछुल्ल भएको छ। 

जनकपुरधाममा हुने प्रदेश सम्मेलनमा प्रदेश कार्यसमितिले सभापति देउवासँगै पदाधिकारीलाई निम्ता गरेको छ। नेता कोइरालालाई पनि निम्ता गरेको छ, तर देउवापछिको वरियतामा राखेर विशिष्ट अतिथिकारुपमा होइन, केन्द्रीय सदस्यको रुपमा। 

यसअघि गण्डकी र लुम्बिनी प्रदेश सम्मेलनमा सभापति देउवापछिको वरियतामा विशिष्ट अतिथिकारुपमा आसन र भाषण पाएका कोइरालाले मधेशमा त्यो नपाउने भएपछि कार्यक्रममै नजाने निर्णय गरे। उनीनिकट नेताहरूले प्रदेश कार्यसमिति बैठकमा बुधबार ‘नोट अफ डिसेण्ट’ नै लेखे।

नेता रविन कोइरालाले भने,‘पार्टी सभापतिमा पराजित नेतालाई वरिष्ठ नेता मान्ने पूरानै संस्कार हो। लुम्बिनी र गण्डकीमा त्यो पालना भयो। हामीले मधेशमा पनि त्यसको पालना गरौँ भनेका हौँ। तर प्रदेश सभापतिले मान्नुभएन। त्यहीभएर प्रदेश सम्मेलनमा हाम्रो नेता आउनुहुन्नँ।’

नेता कोइराला बिहीबार सुनसरीको इनरुवामा हुने कार्यक्रममा सहभागी हुँदैछन्। 
त्यसो त नेता कोइरालालाई सभापति देउवा स्वयम्ले भने वरिष्ठ नेताका रुपमा स्वीकारै कै अवस्था छ।

देउवा प्रमुख अतिथि रहेका कार्यक्रममै कोइरालालाई वरिष्ठ नेताको सम्बोधन भइसकेको छ। नेताहरूका अनुसार उपसभापति खड्काकै कारण सभापति देउवाले कोइरालालाई वरिष्ठ नेता नबनाएका हुन्। 

वरियता निर्धारण गर्ने बेला नै संस्थापन इत्तर पक्षले नेता कोइरालालाई वरिष्ठ नेता बनाउन माग गरेको थियो। १३ औँ महाधिवेशनबाट सभापतिमा देउवा निर्वाचित भएपछि उनीसँग पराजित रामचन्द्र पौडेल वरिष्ठ नेता घोषित भए। 

सुशील कोइराला सभापति हुँदा देउवा नै वरिष्ठ नेता थिए। त्यही परम्पराअनुसार १४ औँ महाधिवेशनपछि देउवासँग पराजित शेखरलाई वरिष्ठ नेता बनाउनुपर्ने कोइरालानिकट नेताहरूको माग थियो। तर देउवाले मानेनन्। त्यहीकारण महाधिवेशनपछि लगत्तै केन्द्रीय समिति बैठकमा वरियता विवाद चर्किएको थियो। 

उपसभापति धनराज गुरूङ र महामन्त्री गगनकुमार थापाले आफ्नो समूहका सभापतिका उम्मेदवार कोइरालालाई वरिष्ठ नेता बनाउन नसकेपछि कसैलाई पनि वरिष्ठ नेता घोषणा गर्न दिएनन्। त्यसबेला केन्द्रीय कार्यसमितिले बनाएको वरियताक्रममा कोइराला २५ औँ नम्बरमा छन्। 

त्यसयता सभापति देउवाले नेता कोइरालालाई निरन्तर पेलेर अघि बढे। तर आमनिर्वाचनअघि सीट बाँडफाँड गर्ने बेला भने देउवा–कोइराला सम्बन्ध उल्टियो। देउवालाई भेट्न समय माग्दा समेत नपाउने कोइराला पछि देउवाकै निमन्त्रणामा साँझ विहान धुम्बाराही पुग्न थाले। 

संसदीय दलको निर्वाचनपछि देउवा-कोइराला सम्बन्ध झन् प्रगाढ बन्यो। त्यही बेला देउवाले कोइरालालाई वरिष्ठ नेता बनाउने आश्वासन समेत दिए। त्यसबेला कोइरालाले मन्त्री छनोटमा समेत आफ्नो समूहमा छलफल नगरी एकलौटी गरे। 

एक वर्षसम्म केन्द्रीय कार्यसमिति बैठक नबोलाउँदा समेत सभापति देउवालाई साथ दिएका कोइराला देउवाप्रति यति नरम देखिए कि त्यसबीचमा न उनको गुट बैठक चल्यो, न गुटको नेतृत्व। बरू त्यहीबीच कोइरालाकालागि केन्द्रीय कार्यालयमा अलग्गै कार्यकक्ष तयार भयो। 

श्रावण पहिलो साता बसेको केन्द्रीय कार्यसमिति बैठकमा देउवा पक्षका नेताले कोइरालाको प्रशंसा गरे, बैठकको शक्ति संघर्ष सभापति देउवा भर्सेस महामन्त्री थापा देखियो, कोइराला ओझेलमा रहे।

नेताहरूका अनुसार कोइरालाले सो बैठकमा देउवाले आफूलाई वरिष्ठ नेताको घोषणा गर्ने अपेक्षा राखेका थिए। तर त्यस्तो घोषणा नभएपछि भने कोइरालाले आफू र सभापति देउवाबीच निकटता बढेको भन्ने समाचार मिथ्या भएको दाबी गरे। 

नेताहरूका अनुसार देउवालाई कोइरालालाई खड्काको असहमतिका कारण वरिष्ठ नेता बनाउन नसकेको बताएका छन्। त्यसयता देउवाले सार्वजनिक मञ्चहरूमा भने कोइरालालाई दोस्रो वरियतामै राखेर सम्बोधन गर्ने गरेका छन्। 

सभापति देउवाले भक्तपुर, नुवाकोट र ओखलढुंगा जिल्ला सम्मेलनमा पनि कोइरालालाई दोस्रो वरियतामा राखेर सम्बोधन गराए। जबकि लुम्बिनी र गण्डकीका प्रदेश सभापति कोइरालानिकट भएपनि ओखलढुंगा र भक्तपुर सभापति भने देउवानिकट नै हुन्। 

पार्टीमा पटक–पटक केन्द्रीय सदस्य, सहमहामन्त्री र महामन्त्री हुँदै उपसभापति निर्वाचित भएका खड्का कोइरालाभन्दा आफू सिनियर भएको दाबी गर्छन्। जबकि कोइराला भने यसअघि पार्टीको केन्द्रीय सदस्यमात्रै रहेका नेता हुन्। उनी १३ औँ महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएका थिए। 

त्यसो त कोइराला र खड्काबीचको संघर्षलाई आगामी महाधिवेशनसँग समेत जोडेर हेर्न थालिएको छ। खड्का सभापति देउवापछि त्यही समूहबाट सभापतिको प्रत्यासी बन्ने दाउमा छन् भने अघिल्लो महाधिवेशनमा पराजित भएका कोइराला स्वभाविक प्रतिस्पर्धी हुन्।

गुट संरचनामा ठूलो फेरबदल नभए आगामी महाधिवेशनमा सभापतिकालागि कोइराला र खड्काबीचमै प्रतिस्पर्धा हुनेछ। महाधिवेशनका लागि आफ्नो पक्षमा माहोल बनाउनकालागि पनि कोइराला र खड्काबीच अहिल्यैदेखि अघोषित दौड सुरू भइसकेको छ।  

Logo