कोसीमा सहज कार्यक्रम: पर्यटन पूर्वाधार बनाउन स्वीस सरकारले साढे दुई अर्ब सहयोग गर्ने

कोसीमा सहज कार्यक्रम: पर्यटन पूर्वाधार बनाउन स्वीस सरकारले साढे दुई अर्ब सहयोग गर्ने


सरकारले कोसी प्रदेशमा पर्यटन पूर्वाधार निर्माण गर्न ‘सहज परियोजना’ सञ्चालन गर्ने भएको छ। स्वीस सरकारको सहयोग र नेपाल सरकारको समन्वयमा प्रदेश सरकारले पर्यटन पूर्वाधार निर्माण गर्न सो परियोजना सञ्चालन गर्ने प्रक्रिया अघि बढेको हो। 

परियोजनाले कोसीका विभिन्न पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न फुट ट्रेल र पार्क निर्माण गर्नेछ। परियोजना सञ्चालनका विषयमा सहरी विकासमन्त्री सीता गुरूङको पहलमा चरणबद्ध छलफल भइसकेको छ। 

हालै मन्त्रालयमा मन्त्री गुरूङ र स्वीस राजदूत डेनियल मेउलीबीच शिष्टाचार भेट भएको थियो। सो क्रममा पनि परियोजना सञ्चालनका लागि छलफल भएको थियो। 

भेटमा स्वीटजरल्याण्डमा संविधान निर्माण र कार्यान्वयनका लागि भएको असल अभ्यास र स्वीस सरकारले नेपालमा विशेष गरी पुल निर्माणमा गरेको योगदानबारे कुराकानी भएको थियो। 

मन्त्री गुरूङको आग्रहमा स्वीस सरकारले कोसीका पर्यटकीय क्षेत्रहरूलाई लक्षित गरी पर्यटकीय पदमार्ग निर्माण र पार्कहरू निर्माण गर्ने लगायत कार्यक्रम सञ्चालनकालागिस्वीकृति दिएको हो। 

सहज परियोजनाअन्तर्गत पुर्वका पर्यटकीय क्षेत्रहरूलाई लक्षित गरी करिब ४०० किलोमिटर फुट ट्रयाक (पैदलमार्ग) निर्माण हुने मन्त्री गुरूङका स्वकीय सचिव भगिमान गुरूङले जानकारी दिए। 

उनका अनुसार तुम्लिङटार देखि तेह्रथुमसम्म लालीगुराँस ट्रेल निर्माण हुनेछ। त्यस्तै, खोटाङ्गदेखि भोजपुर हुँदै संखुवासभासम्म मुन्धुम ट्रेल निर्माण हुनेछ।

पाँचथरको फिदिमदेखि लब्रेकुटी, सिलौटी, पौवाभञ्ज्याङ, गिरपु, सिन्तापु, गुरुवाले, सन्दकपुर माइपोखरी हुँदै इलामसम्म पुग्ने फाल्गुनन्द ट्रेल विकास गर्ने योजना छ। त्यसपछि इलाममा चिया गार्डेन बनाउने योजनासमेत गरी करिब साढे दुई अर्ब रुपैयाँको परियोजना सञ्चालन हुन लागेको हो। 

Logo