‘म रहेसम्म लोकतान्त्रिक गणतन्त्रमा आँच आउन दिने छैन’ -राष्ट्रपति पौडेल

‘म रहेसम्म लोकतान्त्रिक गणतन्त्रमा आँच आउन दिने छैन’ -राष्ट्रपति पौडेल


राष्ट्रपति रामचन्द्र पौडेलले आफू रहेसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने बताएका छन् ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले विराटनगरमा शनिबार  गरेको प्रजातन्त्र सेनानी सम्मान तथा उद्योगीहरुको भेलामा उनले आफ्नो तागतले भ्याएसम्म  र आफू रहेसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने दृढता प्रकट गरेका हुन् । 

स्वदेशी कच्चा पदार्थमा आधारित र उच्च मूल्य अभिवृद्धि हुने वस्तु तथा सूचना प्रविधि सम्बन्धी सेवा निर्यात गर्ने उद्यमीहरूलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ रहेको छ । 

उनले नेपालमा कृषि क्षेत्रको रूपान्तरण र उद्योग व्यवसायको विस्तार गरी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न, निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापन गर्न, अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन तथा निरपेक्ष गरिबी निवारण गरी आर्थिक विकास गर्न सरकार एक्लैले सक्ने स्थिति छैन भन्दै त्यसैले निजी क्षेत्रसँग सरकारले साझेदारी गरेमा मात्र यो सम्भव भएको बताए । “साथै विदेशी ठूला कम्पनीहरूसँग सहकार्य गरी विकसित देशहरूबाट उद्योगधन्दा ल्याई स्वदेशकै जनशक्तिलाई तालिम उपलब्ध गराउने तथा दक्ष, अर्धदक्ष जनशक्ति निर्माण गरी रोजगारी समस्या समाधान गर्नेतिर हामी लागौं । यसको नेतृत्व हाम्रा तपाई उद्योगपति र व्यापारीहरुले नै गर्नुपर्ने आवश्यकता छ ।’ उनले भने ‘कुल लगानीमा दुई तिहाईभन्दा बढी लगानी भएको निजी क्षेत्रलाई विश्वासमा लिएर नीतिगत आधार निर्माण गर्न मौजुदा नीति र कानुनहरुको समिक्षा गरी नयाँ नीति र ऐन निर्माण गर्ने, निजीक्षेत्र मैत्री ऐन, कानुन परिमार्जन गर्ने काम वर्तमान सरकारबाट हुन जरुरी छ ।”

राष्ट्रपति पौडेलले सरकारले अर्थतन्त्रको सुधारका लागि चालेका कदम तथा रणनीति, निजी  क्षेत्रको सहयोग स्वरूप बाह्य क्षेत्र मजबुत अवस्थामा रहेको तथा विप्रेषणको वृद्धि दर राम्रो हुनुका साथै सोधानान्तर स्थिति बचतमा रहेको प्रसङ्ग उल्लेख गर्दै उनले हाम्रो जस्तो देशको लागि विदेशी सञ्चितिको स्थितिले बढी महत्व राख्ने बताए । उनले भने, “विदेशी सञ्चिति राम्रो अवस्थामा भएको हुँदा अप्ठ्यारो अवस्थामा लिएका कदमहरूलाई सरकारले विस्तारै सामान्य गराउँदै लैजानुपर्छ भन्ने लाग्दछ ।”

उनले कोशी प्रदेशको कुरा गर्दा हलेसीका महादेव, ट्याम्केका सिद्धबाबा, पाथीभरा माता, छिन्ताङ् देवी, बराहक्षेत्र, यस प्रदेशका गुम्बा, मठमन्दिर, लोभरकटी किराँत मन्दिर लगायतलाई आर्कषक पर्यटकीय क्षेत्रका रूपमा विकास गरेर राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउन सकिने विचार पनि व्यक्त गरेका छन् । 

Logo