अबको वर्ष सरकारले नयाँ रेकर्डहरू बनाउँछः प्रधानमन्त्री प्रचण्ड

अबको वर्ष सरकारले नयाँ रेकर्डहरू बनाउँछः प्रधानमन्त्री प्रचण्ड


नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले अबको वर्षमा सेवा, विकास र सुशासनको क्षेत्रमा नयाँ रेकर्डहरू बनाउने घोषणा गरेका छन्। 

मंगलबार विहान १३१ औँ माओ दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारले यही वर्ष पनि केही रेकर्डहरू कायम गरेको र त्यसबारे आफूले साँझ गर्ने सम्बोधनमा जानकारी गराउने बताएका हुन्। 

दाहाल प्रधानमन्त्री बनेको मंगलबार एक वर्ष पूरा भएको छ। सो अवसरमा प्रधानमन्त्री दाहालले बेलुका ५ बजे देशबासीका नाममा सम्बोधन गर्दैछन्। 

‘सरकारले एक वर्ष पूरा गरेको छ। योबीचमा केही न केही रेकर्डहरू त बनेकै छन्। त्यसलाई नजिकबाट नियाल्ने मानिसहरूले देख्नुभएकै छ,’उनले भने,‘अब नयाँ वर्षमा नयाँ ढंगले काम गर्ने प्रण गरेको छु। म आफैँले नयाँ ढंगले काम थालिसकेको छु। अबको वर्ष सरकारले प्रदान गर्ने सेवाको क्षेत्रमा,विकासको क्षेत्रमा र सुशासनको क्षेत्रमा केही न केही रेकर्डहरू बनाउँछ,बनाउनैपर्नेछ।’

उनले मंगलबार साँझ गर्ने सम्बोधनमा आफूले सरकारको एक वर्षको समीक्षा गर्ने र अर्को वर्षको कार्य प्राथमिकताका विषयमा प्रष्ट पार्ने बताए। माओप्रति सम्मान र श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री दाहालले दश वर्षे जनयुद्ध र शान्तिकालमा पार्टीमा योगदान पुर्‍याएका नेता कार्यकर्ताहरूको योगदानलाई समेत स्मरण गरे।

Logo