#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व574951135533329218782472300
नेपाल8864699183

सरकार ! आहत मजदुर वर्गले कहिले पाउँछन् राहत ?

आज यतिबेला सम्म आइपुग्दा देश लकडाउनको २५ औं दिनमा छ । विश्व जनमानसका लागि टाउको दुखाईको विषय रहेको कोरोना भाइरसको त्रासले विश्व नै लकडाउनमा रहिरहेको सन्दर्भमा नेपालमा पनि लकडाउन हुनु अस्वभाविक थिएन । यसलाई नागरिकले स्वीकारेका पनि छन् । स्वीकार्नु पर्ने गम्भिर अवस्था पनि हो यो ।

सरकारले लकडाउन गरेपछि यतिबेला हरेक तह प्रभावित भएका छन् । जसो तसो हुने खानेहरुले त भएको खाएरै भएपनि लकडाउनलाई पालना गरिरहेका छन् । तर दिउसोभरि काम गरेर विहान बेलुका छाक टार्नु पर्ने अवस्थाका मजदुरवर्ग, जोसँग खाने सामल समेत छैन । भोको पेटले कसरी दैनिकी गुजारा गर्ने ? यहि अवस्था भएपछि हप्तौं पैदल हिंडेर यो चर्को घाममा कोहि पूर्व विराटनगर गइरहेका छन् त कोहि पश्चिम रोल्पा र बर्दियासम्म ।

एकातिर खाने सामल नभएपछि चिउराको पोको बोकेका छन् , अर्कातिर कालो म्याट बेरेर झुड्याएका छन् । कपडाको पोको पनि च्यापेका छन् । ती दृष्यहरु देख्दा निकै दर्दनाक छ । सरकारले लकडाउन मात्र थप्ने र मजदुरवर्गका लागि कुनै राहतका प्याकेज नल्याउँदा उनीहरुको यो हालत भएको हो ।

केहि दिन पहिले जिल्ला प्रशासन कार्यालय काभ्रेले जिल्लामा २ जना युवामा कोरोना पोजेटिभ देखिएको भन्दै सो जिल्ला हुँदै बाहिरी जिल्ला जाने पैदलयात्रीहरुलाई सडकमा हिंड्न समेत प्रतिबन्ध लगायो । काठमाडौंमा बस्न सक्ने अवस्था नभएपछि दैनिक सयौंको संख्यामा मजदुरहरु काभ्रे जिल्ला हुँदै पूर्वी नेपालका जिल्लाहरु उदयपूर, सिन्धुली, खोटाङ मात्र नभएर विराटनगर सम्म नै पैदल गइरहेका थिए । यसरी हिंडेर जाँदा पनि संक्रमण फैलन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले हिंड्न समेत प्रतिबन्ध लगाएको थियो । एक हिसाबले यो ठिकै होला तर राजमार्गमा हिड्न समेत रोक लगाउँदा समस्यामा पर्ने नागरिकका लागि केहि विकल्प समेत सोच्न नसक्नु प्रशासनको लाचारीपन हो कि होइन ?

यतिबेला दैनिक सयौंको संख्यामा मजदुरहरु दिउसो साँगामा रोकिने गरेका छन् र रात परेपछि कुम्ला बोकेर गन्तव्यतर्फ गइरहेको अवस्था छ । कोठा भाडा तिर्न सक्ने अवस्था भए र खानका लागि चामल भए के ज्यान जोखिममा राखेर हप्तौं लगाएर उनीहरु गाउँ फर्कन्थें होला ? यतिबेला देशमा ३ तहका सरकार छन् । के यी ३ वटै सरकारहरु मजदुरका समस्यातर्फ छैनन् ? यो गम्भिर रुपमा उठेको प्रश्न हो ।

स्वास्थ्य समस्याका कारण सरकारले लकडाउन गर्नु ठिकै हो । यसलाई कुनैपनि नागरिकले अस्वभाविक रुपमा लिएका छैनन् । यदि उनीहरुले अस्वभाविकरुपमा लिएका थिए भने लकडाउनको खुलेर विरोध गर्थे । तर नागरिक त्यति अबुझ छैनन् । यसो भनेर भोको पेटले राष्ट्रियता पनि त जोगिंदैन नि । भएकाहरुले त जे छ खाएर कोठामै बस्छन्, बसिरहेका पनि छन् । तर यी दैनिक ज्यालादारीका लागि राहत दिन र बस्ने व्यवस्था दिन सरकार चुकेकै हो त ? के लकडाउन मात्र समस्याको समाधान हो ? यसले निम्त्याएको अर्को गम्भिर अवस्था तर्फ सरकारले कहिले सोच्ने ? यो आम मजदुरको प्रश्न हो ।

काठमाडौंमा रहेका दैनिक ज्यालादारी वर्गलाई सरकारले राहत दिइरहेको बताएको छ तर ती मजदुरले अहिले सम्म राहत नै नदेखेको बताइरहेका छन् । त्यसो भए सरकारले दिएको भनिएको राहत कसको हातमा परेको छ ? यो पनि अर्को गम्भिर प्रश्न हो । यसबाट के थाह हुन्छ भने मजदुर वर्गका लागि भनिएको राहत हुनेखानेहरुका घरमा थन्किएका छन् । सरकारले यसतर्फ सोच्नै भ्याएको छैन ।

यो एकातिर छँदैछ अर्कातिर ती मजदुरहरु दैनिकरुपमा एक जिल्लाबाट अर्को जिल्ला हुँदै कतिवटा जिल्ला पार गर्दै गाउँ पुगिरहेका छन् । यसरी हिडेर जिल्ला जिल्ला पुग्दा भाइरस सर्ने जोखिम पनि त उस्तै छ नि । सरकारले भनेको लकडाउन नागरिककै लागि हो । तर भोक भन्दा ठूलो केहि नदेखेपछि चिउरा र पानीको भरमा हप्तौं हिडेर सयौं किलोमिटरको दुरी पार गरिरहेका न्युन आय भएका नागरिकलाई सरकारले गम्भिररुपमा एउटा गतिलो निर्णय गर्नै पर्छ । लकडाउन मात्रै गर्ने र यसबाट उत्पन्न हुने अर्को जटिल परिस्थितीतर्फ सरकारले नसोच्ने हो भने यो समस्याको समाधान पक्कै होइन ।

हो यतिबेला नेपाल मात्र होइन विश्व नै जटिल अवस्थामा छ । आजका दिन सम्म आइपुग्दा डेढ लाख मानिसहरु कोरोनाकै कारण मरिसकेका छन् । दैनिक रुपमा हजारौंको संख्यामा मृत्युवरण गरिरहेका छन् । मै हुँ भन्ने देशहरु अमेरिका, फ्रान्स, स्पेन, इटाली, बेलायत सबैलाई कोरोनाले धुरुधुरु रुवाएको छ । नेपाल सरकारले ढिलै भएपनि यसतर्फ सर्तकता अपनाएको छ । हाल सम्म नेपालमा १६ जनामा यसको संक्रमण देखिएको छ । तीनिहरु पनि गम्भिर अवस्थामा छैनन् । यस अर्थमा नेपालीहरु भाग्यमानी नै छन् । यस्तो बेलामा सरकारले गरेको लकडाउनले हामीलाई जोखमबाट धेरै हदसम्म जोगाएको पक्कै हो । यससँगै मजदुरवर्ग भोकभोकै रहनु पर्ने अवस्था आएको छ । सरकार उनीहरुको समस्या तर्फ पनि केन्द्रित हुनु जरुरी देखिन्छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार