‘एयरबस ३२०’ को पहिलो नेपाली परीक्षक पाइलट बने दीपु ज्वारचन

‘एयरबस ३२०’ को पहिलो नेपाली परीक्षक पाइलट बने दीपु ज्वारचन


नेपाल वायुसेवा निगमका पाइलट दीपु ज्वारचनले 'एयरबस ३२०' को परीक्षक पाइलट (डेजिगनेटेड चेक पाइलट) को लाइसेन्स पाएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार ज्वारचनलाई परीक्षक पाइलटको लाइसेन्स दिएको हो।

यससँगै ज्वारचन परीक्षक पाइलटको लाइसेन्स पाउने पहिलो नेपाली पाइलट बनेका छन्। यसअघि नेपालमा एयरबसका लागि विदेशी पाइलटले नै पाइलटहरूको परीक्षा लिनुपर्ने अवस्था थियो। 

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार ज्वारचनले एयरबस ३२० जहाज उडानका लागि पाइलट तथा को-पाइलटको तालिम तथा परीक्षा लिन पाउने छन्। 

'इयूको पछिल्लो अडिटले नेपालमै डिसीपी गर्नुपर्छ भन्ने सिफारिस गरेको थियो,' सूचना अधिकारी भुलले भने,'सोही अनुरूप यसपटक प्राधिकरणले निगमका पाइलट ज्वारचनलाई प्रशिक्षक पाइलटको योग्यपत्र दिएको हो।' ज्वारचन हाल निगममा सिनियर प्रशिक्षक पाइलट हुन्। ज्वारचनले सन् २००७ देखि नेपाल एयरलाइन्सका जहाज उडाइरहेका छन्। 

ज्वारचनले करिब ९ हजार घण्टा जहाज उठाइसेका छन्। उनका बुबा पनि पाइलट हुन् भने आमाले पनि नेपाल एयरलाइन्सको क्याबीन क्रू प्रमुखको सेवाबाट हालैमात्र अवकाश लिएकी हुन्।

Skip This
Logo