भूकम्पको पूर्वतयारी गरेनौं भने ठूलो जोखिम उठाउनुपर्ने हुनसक्छः प्रधानमन्त्री प्रचण्ड

भूकम्पको पूर्वतयारी गरेनौं भने ठूलो जोखिम उठाउनुपर्ने हुनसक्छः प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपतको जोखिमबाट बच्न पूर्वतयारी आवश्यक रहेको बताएका छन् । 

बुधबार दिउँसो ललितपुरमा आयोजित भूकम्प प्रभावित क्षेत्रमा विपत् व्यवस्थापन तथा पुनर्निर्माण सम्बन्धी अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री प्रचण्डले नेपाल प्राकृतिक दृष्टिले जोखिमयुक्त मुलुक भएकाले त्यसबाट बच्न राम्रो पूर्वतयारी आवश्यक रहेको बताएका हुन् । ‘नेपाल भूकम्पको जोखिमका दृष्टिले उच्च जोखिममा रहेको र पश्चिमी क्षेत्रमा ठूला भूकम्पहरू आउन सक्ने सम्भावनाबारे कतिपय विज्ञहरूले भन्दै आएका छन् । वर्ष दिनभित्रै जाजरकोट, बझाङ्ग र डोटीमा गएका भूकम्पले यसको पूर्वसंकेत गरेको छ,’उनले भने । 

उनले थपे,‘असोज १६ गतेपछि एक महिनाको अन्तरालमा बझाङ र जाजरकोट भूकम्पको लगत्तै म दुवै स्थानमा पुगेँ । त्यहाँको अवस्था देख्दा लाग्यो,मध्यम खालको भूकम्प आउँदा त यस्तो अवस्था छ भने हालैको जापानमा गएको जत्रो ७.६ म्याग्निच्युडको भूकम्प वा २०७२ सालको जत्रो भूकम्प गएको भए त्यसले सिर्जना गर्ने त्रासदी र क्षति हामीले झेल्न सक्थ्यौं होला र ?’

प्रधानमन्त्री प्रचण्डले विपतको पूर्व जोखिम आंकलन गरी त्यसको तयारीमा जुट्नुपर्नेमा जोड दिए । उनले भने,‘विपद पूर्व जोखिमको आंकलन गरी सोहीअनुरूपको संरचना र तयारीका काममा उदासिनता रहने गरेको छ । त्यसैले यसपटक श्रृङ्खलाबद्ध रूपमा आएका भूकम्पहरूले हामीलाई जोखिम प्रतिरोधी संरचना र सोहीअनुरूपको निरन्तर तयारीका लागि घच्घच्याएको छ । त्यसैले पुनर्निर्माणका लागि गतिलो तयारी गर्ने, भूकम्पप्रतिरोधी डिजाइन तयार पार्ने, बलियो संरचना बनाउने तथा पर्याप्त वजेटको व्यवस्था गर्ने विषयमा मेरो जोड रहेको छ ।’

Logo