सन्दीप लामिछाने जिल्लाको फैसलावि,रुद्ध उच्च अदालत जाने, प्रधानमन्त्री किन गर्दै छन् युगान्डा भ्रमण ? [भिडियाे]

सन्दीप लामिछाने जिल्लाको फैसलावि,रुद्ध उच्च अदालत जाने, प्रधानमन्त्री किन गर्दै छन् युगान्डा भ्रमण ? [भिडियाे]


सन्दीप लामिछाने जिल्ला अदालत काठमाडौंले सुनाएको फैसलाविरुद्ध उच्च अदालत जाने

क्रिकेटर सन्दीप लामिछाने जिल्ला अदालत काठमाडौंले सुनाएको फैसलाविरुद्ध उच्च अदालत जाने भएका छन्। सन्दीपका वकिल सरोज घिमिरेले फैसलाप्रति आफ्नो पक्ष असन्तुष्ट रहेको बताए।

जिल्ला अदालतमा पत्रकारहरुसँग कुरा गर्दै उनले कुनै पनि आधार, कारण र प्रमाणहरुले लामिछाने दोषी नदेखिएको तर्क गरे।  जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ। न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश पनि गरेको हो।

प्रचण्ड प्रचण्ड असंलग्न आन्दोलन राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन युगान्डा भ्रमणमा जाने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असंलग्न आन्दोलन राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन युगान्डा भ्रमणमा जाने भएका छन् ।आगामी ५ देखि ६ माघसम्म युगाण्डाको राजधानी काम्पालामा हुन लागेको असंलग्न आन्दालोनका सदस्य राष्ट्रहरुको १९ औँ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री जाने भएका हुन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भ्रमणको निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

अर्थमन्त्री महतले नेपालमा हुने लगानी सम्मेलनमा सहभागी हुन लगानीकर्तालाई दिए निम्तो

अर्थमन्त्री डा. प्रकाशशरण महतले भारत र अन्य देशका लगानीकर्तालाई नेपालमा वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनमा सहभागी हुन निम्तो दिएका छन्।

भारतको गुजरातमाआयोजित भाइब्रेन्ट गुजरात ग्लोबल समिट २०२४ मा सहभागी विभिन्न देशका राष्ट्रप्रमुख, मन्त्रीहरु र लगानीकर्तालाई सम्बोधन गर्दै मन्त्री डा. महतले निम्तो दिएका हुन् ।नेपालमा १६ र १७ वैशाखमा लगानी सम्मेलन हुँदैछ ।

राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समितिको संयोजकमा  रमेश लेखक चयन

सत्ता गठबन्धनद्वारा गठित राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समितिको बैठक पहिलो बैठक बसेको छ। आज बसेको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षाका लागि गठबन्धनको उम्मेदवार जिताउन आह्वान गरेको हो।

बैठकले राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समितिको संयोजकमा समिति सदस्य एवं नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलाई चयन गरेको छ। 

नेपाल स्टक एक्सचेन्ज ३ दिन बन्द हुने

नेपाल स्टक एक्सचेन्ज ३ दिन बन्द हुने भएको छ। विद्युत मर्मत सम्भार गर्नुपर्ने भएकाले तीन दिन बन्द गर्न लागिएकोनेपाल स्टक एक्सचेन्जले जनाएको छ।

बिहीबार (पुस २६) बेलुका ५ बजेदेखि शनिबार (पुस २८) ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द रहने नेप्सेले जनाएको छ । विद्युतीय प्रणालीलाई अध्यावधिक गर्नुपरेकाले बन्द गर्न लागिएको बताइएको छ ।

स्वास्थ्य संस्थाले वार्षिक रुपमा बुझाउनुपर्ने दस्तुर हेरफेर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाले वार्षिक रुपमा बुझाउनुपर्ने दस्तुर हेरफेर गरेको छ।  

मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी नियमावली, २०६९ को नियम १७ ले दिएको अधिकार प्रयोग गरी सो नियमावलीको अनुसूची ५ र अनुसूची ६ को हेरफेर गरेर विवरण सार्वजनिक गरेको हो।

अब सर्जिकल विधामा स्नातकोत्तर वा सो भन्दा माथिको योग्यता हासिल गरेका चिकित्सकले प्रतिवर्ष १५०० रुपैयाँ बुझाउनुपर्नेछ । यस्तै सर्जिकल बाहेक अरु विधामा स्नातकोत्तर वा सो भन्दामाथिको योग्यता हासिल गरेका चिकित्सकले १ हजार १००, एमबीबीएस, बिडिएस लगाएतले ७५० रुपैयाँ बुझाउनुपर्नेछ।

केएमसीले  लियाे डा. विशद दाहालको निलम्बन फिर्ता

काठमाडौं मेडिकल कलेज (केएमसी)ले डा. विशद दाहालको निलम्बन फिर्ता लिएको छ। बुधबार कलेज प्रशासन, काठमाडौं विश्वविद्यालय र आवासीय चिकित्सकका प्रतिनिधिबीच भएको छलफलमा डा. दाहालको निलम्बन फिर्ता लिने र कलेज प्रवेश गर्न दिने ८ बुँदे सहमति भएको हो।

सहमति अनुसार आवासीय चिकित्सकले घोषणा गरेका सम्पूर्ण विरोधका कार्यक्रम फिर्ता लिई नियमित अध्ययन तथा कामकाजमा पनि फर्किनुपर्नेछ।

सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने तयारी

सरकारले सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने तयारी गरेको छ। २४ पुस मंगलबार ‘संघ, प्रदेश र स्थानीय तह (समन्वयन तथा अन्तरसम्बन्ध) ऐन २०७७’ को व्यवस्था अनुसारको विषयगत समितिको बैठकमा सुन्तलालाई राष्ट्रिय फलफूल घोषणण गर्ने छलफल भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

यस्तै सोही बैठकमा कृषि क्षेत्रमा लगानी दशक घोषाण गर्ने सम्बन्धमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि क्षेत्रमा लगानी दशकको घोषणा र सुन्तलालाई राष्ट्रिय फलफूल घोषाणा गर्ने तयारीबारे प्रदेश सरकारका कृषि मन्त्री र सचिवहरुसँग छलफल गरेको हो 

कोशी प्रदेशसभाको चालू चौथो अधिवेशन अन्त्य

कोशी प्रदेशसभाको चालू चौथो अधिवेशन अन्त्य भएको छ। मंगलबार सभामुखको निर्वाचनपछि बुधबार राति १२ बजेबाट अधिवेशन अन्त्य भएको हो।

कोशी प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेशसभाको चालू चौथो तथा हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख परशुराम खापुङ समक्ष सिफारिस गरेको थियो। सरकारको सिफारिस लगतै प्रदेश प्रमुख खापुङले अधिवेशन अन्त्य भएको सूचना जारी गरेका छन्।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले  गर्याे‘अपरेशन केक’ सुरु

अवैध लागुऔषध गाँजा मिसाइ केक तथा कुकिज कारोबार गरेको फेला परेपछि नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले ‘अपरेशन केक’ सुरु गरेको छ।

उक्त अपरेशनअन्तर्गत प्रहरीले हालसम्म तीन जनालाई पक्राउ गरेको छ। यही पुस २२ गते काठमाडौँमा विशन मानन्धर पक्राउ परेका थिए । ब्यूरोले टोली परिचालन गरी मङ्गलबार थप दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौँको सोह्रखुट्टेका २६ वर्षीय मोहमद फाजिल र काठमाडौँको दक्षिणकाली नगरपालिका–३ का २७ वर्षीय शालोम सादा लेप्चा जैसी रहेका छन्।

विश्व बैंकले नेपालको आर्थिक वृद्धि आगामी वर्ष ५ प्रतिशत हुने प्रक्षेपण

विश्व बैंकले नेपालको आर्थिक वृद्धि आगामी वर्ष ५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘विश्वव्यापी आर्थिक सम्भावना’ प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१-८२ मा नेपालले ५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण छ।

चालु आर्थिक वर्षमा (२०८०-८१) भने ३.९ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान विश्व बैंकले यसअघि नै सार्वजनिक गरिसकेको छ । गत वर्ष नेपालको आर्थिक वृद्धिदर १.९ प्रतिशत भएको थियो ।

क्यानको महाप्रबन्धक पद छनोट प्रक्रिया पारदर्शी नभएको भन्दै प्रक्रियामा भएको त्रुटी सुधार गर्न चेतावनी

नवराज कोइरालाले नेपाल क्रिकेट संघ (क्यान)को महाप्रबन्धक पद छनोट प्रक्रिया पारदर्शी नभएको भन्दै प्रक्रियामा भएको त्रुटी सुधार गर्न चेतावनी दिएका छन्।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कोइरालाले ७२ घण्टाभित्र जेनेरल म्यानेजर (महाप्रवन्धक)को छनोट प्रक्रियामा भएको त्रुटी सुधार नगरे सर्वोच्च अदालतमा क्यानका सचिव पारस खड्का र क्यानको प्रक्रियाविरुद्ध मुद्दा हाल्ने चेतावनी दिएका हुन्।

अब नयाँ परीक्षाका लागि लोकसेवालाई अनुरोध गरेर लिनको लागि प्रधानमन्त्री, खेलकुद मन्त्रालय, खेलकुद विभागलाई पनि उनले अनुरोध गरे।

Logo