ललितपुरमा विपद् जोखिम उपकेन्द्र स्थापना गर्ने तयारी

ललितपुरमा विपद् जोखिम उपकेन्द्र स्थापना गर्ने तयारी


ललितपुर महानगरपालिकाले विपद् जोखिम व्यवस्थापन उपकेन्द्रहरु स्थापना गर्ने तयारी थालेको छ। विज्ञहरूले महानगरपालिकाभित्र कम्तिमा पनि चार वटा विपद् व्यवस्थापन उपकेन्द्रहरू आवश्यक रहेको सुझाव दिएका छन्। 

महानगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकमा उनीहरुले सहरमा बढ्दै गएको जनघनत्व, सवारी चाप लगायतका कारणले तीन वटा उपकेन्द्र पर्याप्त नभएको बताए। महानगरले धापाखेल, बालकुमारी गोइत दोमार र बुङ्मतीमा विपद् जोखिम व्यवस्थापन उपकेन्द्र स्थापना गर्न पाँच करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। 

त्यसैको कार्यान्वयनको सन्दर्भमा बुधबार बसेको बैठकमा विज्ञहरूले चार वटा उपकेन्द्र खोल्न सुझाव दिएका हुन्। भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले महानगरपालिका क्षेत्रको जनघनत्व, साँघुरा सडक र बढ्दो सवारी चापका कारण कम्तिमा पनि चार ठाउँमा उपकेन्द्र स्थापना गर्न सुझाव दिए। 

बैठकमा मेयर चिरीबाबु महर्जनले भने पुलचोकमा रहेको जुद्धवारुण कार्यालयलाई केन्द्र मानेर सहरका अन्य तीन स्थानमा उपकेन्द्र खोल्न लागेको जानकारी गराएका दिए। त्यसपछि विज्ञहरूले चार ठाउँमा त्यस्ता उपकेन्द्र स्थापना गर्नु उपयुक्त हुने सुझाव दिएका हुन्। 

मेयर महर्जनले महानगरपालिकाले अहिले दुई वटा अत्याधुनिक दमकल खरिद गरिसकेको र अन्य उपकरणहरू पनि खरिद गरिरहेको बताए। महानगरपालिकाले नगर प्रहरीको जनशक्ति समेत बढाएको छ। 

विज्ञहरूको सुझावपछि मेयर महर्जनले सबै ठाउँमा एकै वर्ष विपद् व्यवस्थापन उपकेन्द्रहरू स्थापना गर्न सम्भव नभएपनि क्रमशः त्यस्ता केन्द्रहरूको निर्माण गर्दै जाने बताए। 

बैठकमा ललितपुरका प्रहरी प्रमुख शेखर खनालले वडास्तरमा विपद् उपकरण र सामाग्रीहरूको व्यवस्थापन गर्न सुझाव दिए। ‘जब विपद् आउँछ, त्यहाँ प्रहरीको खोजी हुन्छ। प्रहरीसँग न पर्याप्त जनशक्ति छ, न त उपकरण नै,’ उनले भनेका थिए, ‘त्यसकारण महानगरपालिकाले वडास्तरमा त्यस्ता उपकरणहरु खरिद गरेर राखिदियो भने त्यसले विपद्को बेला एकदमै ठुलो राहत मिल्नेछ।’

Logo