कोलगेट ‘नेपाल स्पेल बी’ को पाँचौ सिजन अब हरेक बुधबार कान्तिपुर टेलिभिजनमा

कोलगेट ‘नेपाल स्पेल बी’ को पाँचौ सिजन अब हरेक बुधबार कान्तिपुर टेलिभिजनमा


कोलगेट 'नेपाल स्पेल बी’को पाँचौ सिजन कान्तिपुर टेलिभिजनबाट बुधबारबाट सुरु भएकाे छ। अंग्रेजी शब्दको स्पेलिङ उच्चारणसम्बन्धी यो कार्यक्रम माध्यमिक तहका विद्यार्थीको शब्दभण्डार बढाउन गर्न लागिएको हो। कार्यक्रम हरेक बुधबार बेलुका ९ बजेदेखि १० बजेसम्म कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ।

अंग्रेजी शब्दको ‘स्पेलिङ’ हिज्जे उच्चारणसम्बन्धी यो कार्यक्रमा माध्यमिक तह ‘११ र १२’ कक्षाका विद्यार्थीहरु सहभागी हुनेछन्।कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई नेपालभरका विभिन्न ३५ सहरबाट अडिशनमार्फत छनौट गरिएको छ। 

पूर्वको इलामदेखि पश्चिमको महाकाली सम्मका ३५ सहरका २८०० कलेजबाट झण्डै ६ लाख विद्यार्थीहरु पहिलो अडिसनमा सहभागी भएका आयोजक महेश पोखरेलले बताएका छन्।

प्रत्येक सहरबाट पहिलो,दोस्रो र तेस्रो भएका विद्यार्थीहरुलाई काठमाडौँ ल्याएर टेलिभिजनबाट प्रतिस्पर्धा गराइने आयोजकले बताएको छ। ३५ सहरबाट जम्मा १०५ जनालाई टेलिभिजनबाट प्रतिस्पर्धा गराइने छ।

प्रतियोगिता प्रारम्भिक, क्वालिफाइङ, पहिलो र दोस्रो अडिसन, उत्कृष्ट ३, उत्कृष्ट २ र फाइनल र ग्राण्ड फिनाले गरेर सञ्चालन गरिनेछ। विजेताहरुमध्ये प्रथम हुनेलाई ३ लाख, दास्रो हुनेलाई २ लाख र तेस्रो हुनेलाई १ लाख र छात्रवृत्ति प्रदान गरिनेछ।

सरकारी र निजी बिद्यालय दुवैबाट विद्यार्थीहरु सहभागी भएका थिए। कार्यक्रमको मुख्य प्रायोजक कोलगेट नेपाल रहेको र अडिसनकै क्रममा ८० हजारभन्दा बढीलाई डेन्टल चेकअप गराएको आयोजकले बताएको छ।

नेपाल स्पेल बि राष्ट्रिय स्तरमा सञ्चालन भएको पहिलो स्पेलिङ प्रतियोगिता हो । २८ साता चल्ने उक्त कार्यक्रम पत्रकार भुषण दाहालले चलाउने छन्।

अबको पुस्तालाई अंग्रेजी भाषा अत्यावश्यक भइसकेकाले यस कार्यक्रमले अंग्रेजी शब्द, वाक्य र भाषामा निखारता ल्याउने र शब्द भण्डार बढाउने लक्ष्य कार्यक्रमको रहेको निर्माण पक्षले जानकारी दिएकोछ।

Logo