अष्ट्रेलियामा पृथ्वी जयन्तीका दिन अन्तर्राष्ट्रिय नेपाली दिवस

अष्ट्रेलियामा पृथ्वी जयन्तीका दिन अन्तर्राष्ट्रिय नेपाली दिवस


आधुनिक नेपालका एकीकरणकर्ता पृथ्वीनारायण शाहको सम्झनामा अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाउने भएका छन्।  हरेक वर्ष अष्ट्रेलियाका नेपालीले पुष २७ लाई नेपाली दिवसको रुपमा मनाउने गर्दछन्। 

पृथ्वनारायण शाहको एकीकरण अभियानकै कारण विश्वमा नेपाली पहिचान बनेको र विश्वमा नेपाली भनेर चिनिन पाएका कारण पृथ्वी जयन्तीकादिनलाई ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’का रूपमा मनाउने गरेको राष्ट्रिय समारोह आयोजक समितिका मदनमणि अधिकारीले बताए।

पृथ्वी जयन्ती ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’का आयोजक समितिका सदस्य युवा अभियन्ता दीपक पौडेलले पृथ्वीनारायण शाहको सम्बन्धमा गलत कथा बुन्ने र स्थापित गर्ने प्रयास गरिनु घृणित कार्य भएको बताए। 

नेपाल एकीकरण र नेपाली राष्ट्रियताको मियोका रूपमा पृथ्वीनारायण शाहलाई लिनुपर्ने र उनको एकता अभियानको निरन्तरता एवं नेपाली पहिचानको गौरवपूर्ण स्विकारलाई साक्षात्कार गर्ने अवसरका रूपमा संसारभर छरिएका नेपालीले लिनुपर्ने उनको भनाई छ। ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’को स्वरूपमा पृथ्वी जयन्तीलाई यस वर्ष पनि गौरव, श्रद्धा र नेपाली एकताको सन्देश दिनका लागि दिवस मनाउन लागिएको उनले बताए।

शुक्रबार नेपाली भएकोमा गर्व गर्ने अष्ट्रेलियामा बस्ने नेपालीहरूले विभिन्न कार्यक्रमका साथ पृथ्वी नारायणशाहको सम्झना गर्ने कार्यक्रम तय भएको आयोजक समितिका अधिकारीले बताए। 

अष्ट्रेलियाको सिड्नीस्थित नेपालीहरूको घना बसोबास भएको ओबनमा विशेष समारोह हुन लागेको हो। क्यानबेरा, मेलबर्न, एडिलेड, पर्थ, तासमानिया र डार्बिनमा पनि पृथ्वी जयन्तीको उपलक्ष्यमा कार्यक्रम आयोजना गर्ने तयारी छ।

सिड्नीमा आयोजना हुने कार्यक्रम ओबन पार्कमा हुन लागेको छ। विहान ११ बजे देखि दिनभर नै ओबनमा विभिन्न प्रस्तुती र माल्यार्पणको कार्यक्रम छ। 

Logo