बम्जनलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश, रुस-युक्रेन युद्धमा थप एक नेपालीको मृत्यु [भिडियाेसहित]

बम्जनलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश, रुस-युक्रेन युद्धमा थप एक नेपालीको मृत्यु [भिडियाेसहित]


अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश

अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ।

जिल्ला अदालत, सर्लाहीले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार साँझ बम्जनलाई बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो।

ललितपुरमा पत्रकार सम्मेलन गरेर पहिलो पटक ३० भदौ २०७५ मा रौटहटकी एक किशोरीले आफूमाथि बम्जनले बलात्कार गरेको दाबी सार्वजनिक गरेकी थिइन्।

पहिलो पाँच महिनामा रेमिट्यान्स आप्रवाह मासिक एक खर्ब भन्दा माथि

चालु आर्थिक वर्ष २०८०-८१ को पहिलो पाँच महिनामा रेमिट्यान्स आप्रवाह मासिक एक खर्ब भन्दा माथि पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि मंसिरसम्म ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। यस अनुसार यस वर्ष हरेक महिना १ खर्ब रुपैयाँ भन्दा माथि रेमिट्यान्स आएको छ।

 मंसिर महिनामा मात्र १ खर्ब ३५ अर्ब २९ करोड रुपैयाँले रेमिट्यान्स भित्रिएको छ कात्तिक मसान्तसम्म ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ रहेको रेमिट्यान्स मंसिर मसान्तमा पुग्दा ६ खर्ब नाघेको हो।

बक्यौता बाँकी उद्योगहरूले महसुल नबुझाइ लाइन जोडे पुनः काटिदिने चेतावनी

नेपाल विद्युत प्राधिकरणका ४ कर्मचारी संगठनले बक्यौता बाँकी उद्योगहरूले महसुल नबुझाइ लाइन जोडे पुनः काटिदिने चेतावनी दिएका छन्। 

प्राधिकरणअन्तर्गतको कर्मचारी कल्याण परिषद, कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी युनियन र कर्मचारी संघले बक्यौता नउठाइ विद्युत जोडे पुनः काट्ने चेतावनी दिएका हुन्। 

कार्यकारी निर्देशक कुलमान घिसिङलाई ध्यानाकर्षण पत्र बुझाउँदै कुनै हालतमा लाइन काटिएका उद्योगहरूमा विद्युत लाइन नजोड्न भनेका छन्।

रुसी सेनामा भर्ना भएका प्युठानका एक युवकको मृत्यु

रुसी सेनामा भर्ना भएका प्युठानका एक युवकको मृत्यु भएको छ। प्युठान नगरपालिका वडा नं.४ काठेवर निवासी सोनु सुनारको युक्रेन रुस युद्धमा मृत्यु भएको खबर आएको उनका छिमेकी खगेश्वर थापाले जानकारी दिए। 

सोनुसँगै रहेका र अहिले घाइते भएका एक जना नेपालीले उनको मृत्युको खबर दिएको थापाले बताएका हुन्। खगेश्वरका अनुसार दुई वर्षदेखि दुबईमा कार्यरत सोनु केही महिनाअघि उतैबाट रुस गएका थिए।

गौशाला २६ ले नेपाल प्रहरीको साइबर ब्युरोमा दिइन् जाहेरी

बलात्कारी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी युवती भन्दै पहिचान खुलाउनेविरूद्ध गौशाला २६ ले नेपाल प्रहरीको साइबर ब्युरोमा जाहेरी दिएकी छन्। गौशाला २६ ले दुईवटा कसुरमा अनुसन्धान गरिदिन ६ वटा सामाजिक सञ्जालका पेजको नाम उल्लेख गर्दै जाहेरी दिएकी हुन्।

प्रधानमन्त्री सचिवालयको आकार घटाइँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी र स्वकीय सचिवालयको आकार घटाउने गृहकार्य तीव्र भएको छ ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार अहिलेसम्म निजी सचिवालयमा विभिन्न मन्त्रालयबाट काजमा गएका आधा कर्मचारी फिर्ता भइसकेका छन्।

प्रेस सल्लाहकार आचार्यका अनुसार स्वकीय सचिवालयमा रहेका अति आवश्यक बाहेकका कर्मचारीलाई पनि माघ १ गतेदेखि बिदाइ हुने गृहकार्य गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन्।

एसईई रद्द गर्न नहुने 

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) रद्द गर्न नहुने बताएको छ। बिहीबार शिक्षा समितिमा शिक्षा विधेयकमाथिको छलफलमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईई परीक्षा रद्द गर्न नहुने बताएका हुन्। 

जनशक्ति कस्तो बनाउने भन्ने कुरा पाठ्यक्रमले निर्देश गर्ने, पाठ्यक्रमको कार्यान्वयन शिक्षण सिकाइमा कसरी भइरहेको र प्रभावकारिता अथवा कस्तो भइरहेको छ भन्ने मूल्याङ्कन गर्ने परीक्षा मार्फत हुने भएकोले कक्षा १० को परीक्षा हुन जरुरी रहेको उनको भनाइ छ।

टुँडिखेलमा थारू समुदायले २ दिन माघी महोत्सव मनाउने

थारु समुदायले पुस २९ गते र माघ १ गते काठमाडौंको टुँडीखेलमा माघी महोत्सव मनाउने भएको छ। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै टुँडीखेलमा दुई दिन माघी महोत्सव मनाउन लागिएको थारू राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिले जानकारी दिएको हो। समितिले थारु समुदायको नयाँ वर्ष भएकाले थारु भाषा, संस्कृति र जनचेतनाको लागि दुई दिन महोत्सव लागिएको बताएको छ। 

पशुपति क्षेत्रबाट गाँजा कारोबारी पक्राउ

काठमाडौंको पशुपति क्षेत्रबाट गाँजा कारोबारीहरूलाई प्रहरीले पक्राउ गरेको छ।प्रहरीको लागुऔषध नियन्त्रण व्युरोको टोलीले बिहीबार पशुपति क्षेत्रबाट गाँजाका कारोबारीहरूलाई नियन्त्रणमा लिएको हो।

८ सय ३८ ग्राम गाँजासहित ९ जनालाई नियन्त्रणमा लिइएको लागु औषध व्युरोका प्रहरी निरीक्षक पुष्कर कार्कीले जानकारी दिएका छन्। पक्राउ परेकामध्ये चार जनालाई प्रहरीले तारेखमा छाडिएको र पाँच जनालाई भने थप अनुसन्धानका लागि गौशाला चौकीमा बुझाइएको व्युरोले जनाएको छ।

अफगानिस्तानमा शक्तिशाली भूकम्प गयाे

बिहीबार अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ। फैजावाद केन्द्रविन्दु रहेर ६.२ म्याग्निच्युडको भूकम्प गएको हो ।भूकम्पबाट अफगानिस्तानमा भएको क्षतिको विवरण आइसकेको छैन। 

यद्यपि, भारतीय सञ्चारमाध्यमले भूकम्पको धक्का भारत र पाकिस्तानमा समेत महसुस गरिएको जनाएका छन् भूकम्पको धक्का महसुस हुनासाथ दिल्लीमा कयौँ मानिस घरबाट बाहिर निस्किएका थिए।

राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जित्याे 

सुर्खेतमा सम्पन्न राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसच्याम्पियन बनेको हो।

बिहीबार भएको उपाधि भिडन्तमा पहिलो सेट एपिएफले २५–२२ ले जित्यो। त्यसपछि पुलिसले २५–१९, २५–१८ र २५–२३ को जित निकाल्दै उपाधि जित्यो। 

यताविभागीय टोली आर्मीलाई पराजित गर्दै गण्डकी प्रदेशले तेस्रो स्थान हासिल गर्यो। आज भएको खेलमा गण्डकीले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो।यसअघि समूह चरणको खेलमा गण्डकी आर्मीसँग ३–० को सोझो सेटमा पराजित भएको  थियो।

Logo