‘एक इन्च भूमि छोड्न सकिन्न, गो व्याक इण्डिया’ : नेकपा सांसद खतिवडा (भिडियोसहित)

‘एक इन्च भूमि छोड्न सकिन्न, गो व्याक इण्डिया’ : नेकपा सांसद खतिवडा (भिडियोसहित)


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङ क्षेत्र नम्बर १ का सांसद घनश्याम खतिवडाले नेपाली एक इन्च भूमि पनि छोड्न नसकिने बताएका छन् । केन्द्रबिन्दु अनलाइनसँग विशेष अन्तवार्ता दिँदै सांसद खतिवडाले एक इन्च पनि भूमि छोड्न नसकिने बताएका हुन् । ऐतिहासिक तथ्य र प्रमाणका आधारमा लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभि भएको स्पष्ट भएकाले एक इन्च पनि छोड्न नसकिने उनको भनाइ छ । विगतमा जस्तै भारतीय पक्षले नेपाललाई ठेल ठाल गरेर जित्न सक्छु भन्ने सोच राखेको भए उसको लागि त्यो ठूलो दुर्भाग्य हुने उनको भनाइ छ ।

नेकपाको सरकारले नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेर इतिहासकै सबै भन्दा राम्रो काम गरेको उनले बताए । सरकारले नयाँ नक्सा जारी गरेपछि संविधान संशोधन विधेयक पनि सर्वसमहतिले अगाडि बढेको अवस्थामा नेपाली भूमि फिर्ता हुनेमा ढुक्क भएको उनको भनाइ छ । विःस २०१८ सालमा जनगणना गर्ने भैरव रिसाल हुनु, विभिन्न समयमा भएको जनगणना, नेपाल सरकारलाई तिरो तिरेका प्रमाणहरु तथा सुगौलि सन्धिमा स्प्रष्ट नेपाली भूमि उल्लेख गरिएकाले लामो समयदेखि भारतीय कब्जामा रहेको भूमि फिर्ता हुने उनको भनाइ छ ।

त्यस्तै सांसद खतिवडाले फरक प्रसंगमा सर्वसहमतिले संविधान संशोधन पारित गर्ने निर्णय भएको अवस्थामा तत्कालीन समाजवादी सांसद सरीता गिरीले संशोधनका विरुद्धमा प्रस्ताव दर्ता गराउनुलाई राष्ट्रियता विरोधी काम भएको आरोप लगाएका छन् । लामो समयदेखि भारतीयको कब्जामा रहेको भूमि फिर्ता ल्याउने सरकारको कदमको विरुद्ध जाने जो कसैलाई घृणा गर्ने सांसद खतिवडाको भनाइ छ । तत्कालीन समाजवादी सांसद सरीता गिरीले बुधबार संघीय संसदको सचिवालयमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । उक्त प्रस्तावमा नेपालको संविधानको अनुसूची ३ मा रहेको निसान छाप संशोधन गरेर अध्यावधिक नक्सा अनुसारको नक्सा राख्ने बुंदा खारेज गर्नुपर्ने माग गरिएको थियो ।

त्यस्तैगरी सांसद खतिवडाले अमेरिकी सहयोग नियोग (एमसीसी) सम्झौता कार्यान्यन गर्न नहुने कुनै कारण आफूले नदेखेको बताएका छन् । एमसीसी सम्झौतामा उल्लेख गरिएको अन्तरदेशीय प्रसारण लाइन र बाटो निर्माण गर्दा अमेरिकी सैनिक कसरी आउँछ भन्ने आफूले बुझ्न नसकेको सांसद खतिवडाको भनाइ छ । विगतमा अरुण तेस्रो जलविद्युत आयोजनालाई अनावश्यक रुपमा गिजोल्दा नेपालीले धोका पाएको भन्दै अहिले एमसीसी सम्झौता असफल बनाएर पुन धोका खान नहुने उनले बताए । कोरोना नियन्त्रणमा सरकारको कार्यशैली, संविधान संशोधन र एमसीसी लगायतका विषयमा केन्द्रीत रहेर सांसद घनश्याम खतिवडासँग केन्द्रबिन्दुका सरोज बस्यालले कुराकानी गरेका छन् । सोही कुराकानीको पूरा अंशः

Logo